ओसीएले अध्यक्ष द्वय निलेन्द्रराज श्रेष्ठ र रबीराज कर्णिकारलाई दुई वर्षका लागि निलम्बन गर्‍यो

पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटिविरुद्ध विभिन्न कृयाकलाप सञ्चालन गर्दै आएका नेपाली खेलकुदका दुई प्रभावशाली खेलकुद संघका अध्यक्षहरुलाई ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)ले आगामी दुई वर्षका लागि निलम्वन गरेको छ ।

ओलम्पिक काउन्सिल अफ एशिया (ओसिए)ले नेपाल ट्रायथलन महासंघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ र नेपाल घोडचढी संघका अध्यक्ष रबीराज कर्णीकारलाई सबै ओसीए गतिविधिहरूबाट दुई वर्षका निलम्बन गर्ने निर्णय गरेको हो ।

२०२५ अगस्ट ३१ मा जारी गरिएको आधिकारिक पत्रमा ओसीए इथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारङ्गीले अगस्ट २८ मा बसेको ओसीए कार्यकारी बोर्डको बैठकमा सर्वसम्मत रूपमा उक्त निर्णय पारित गरिएको जानकारी दिएका छन् । ओसीए इथिक्स कमिटीको सिफारिसपछि लिइएको सो  निलम्बनको निर्णय तत्काल लागू हुने पत्रमा उल्लेख गरिएको छ ।

दुबैजनालाई छुट्टा–छुट्टै लेखिएको पत्रमा निलम्बनको निर्णय नेपाल ओलम्पिक कमिटि, अन्तर्राष्ट्रिय तथा एसियाली ट्रायथलन महासंघ र अन्तर्राष्ट्रिय तथा एशियाली घोडचढी माहसंघलाई जानकारी गराइएको छ ।

यो निर्णयले नेपालको खेलकुदमा ठूलो प्रभाव पार्न सक्ने देखिएको छ । अब यी दुबै खेलसंघहरुले ओसीएअन्तर्गत हुने क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको सहभागितामा असर पर्न सक्ने सम्भावना बढेको छ । एक पछि अर्को गर्दै ओसिए कार्वाहीमा उत्रिए पछि नेपाली खेलकुदको एसियन गेम्समा सहभागिता समेत् अब के हुने भन्ने प्रश्न उब्जिएको छ । ओसिएले एक दिन अघि मात्रै ध्रुब बहादुर प्रधानलाई चेतावनीसहितको पत्र पठाएर ओसिएको लोगो प्रयोग नर्गन भनेको थियो ।

प्रधान नेतृत्वको कमिटिले नेपाली खेलकुद संघहरुको भेलाको नाउँमा नेपाल ओलम्पिक कमिटिको नाउँमा विभिन्न गतिविधिहरु गर्दै आएका थिए भने ओलम्पिक कमिटिको भवन समेत उनीहरुले नै सञ्चालन गरेका छन् । केही दिन अघि प्रधानले एक पत्रकार सम्मेलन गर्दै आफू नेतृत्वको कमिटि आधिकारिक रहेको दावी गर्दै एसियाली खेलकुदमा नेपालको सहभागिता सुनिश्चित हुने बताएका थिए ।

ओसिएको कारवाहीले अब प्रधान नेतृत्वको सरकार निकट रहँदै गरेका सम्पूर्ण कृयाकलाप अवैधानिक भएका छन् भने यो निर्णयले सरकार, राष्ट्रिय खेलकुद परिषद समेत अप्ठ्यारोमा पर्ने निश्चित बनेको छ । अब सरकार र राखेपले यस संवेदनशील अवस्थामा कुन बाटो लिन्छ भन्ने चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close