पोखरा स्पोर्ट्स अवार्ड असार १८ गते हुने

पोखरा स्पोर्टस । छैटौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार १८ गते शनिबार हुने तय भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा बुधबार पोखरा रंगशालामा बसेको तेस्रो पूर्ण बैठकबाट अवार्ड कार्यक्रम विश्व खेलकुद पत्रकार दिवसको सन्दर्भ  पारेर असार १८ गते गर्ने निर्णय गरिएको महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्डको मिति घोषणा गरिएसँगै कार्यक्रमलाई भव्य बनाउन तयारी तिव्र पारिने महासचिव पौडेलको भनाई छ ।

अवार्ड कार्यक्रमलाई थप व्यवस्थित बनाउन मञ्चका अध्यक्ष दीननाथ बरालको संयोजकत्वमा मुल आयोजक समिति गठन गर्ने निर्णय बैठकले गरेको छ । यसैगरी अवार्ड कार्यक्रमलाई आर्कषक बनाउन सल्लाह सुझाब लिन जेठ २८ गते मञ्चमा आवद्ध सदस्यहरुको बिचमा बृहत भेला आयोजना गरिने तय भएको महासचिव पौडेलले बताए ।

अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीननाथ बरालको भनाई छ । ‘खेल क्षेत्रमा अगाडि बढ्ने खेलाडीलाई उत्प्रेरणा प्रदान गर्नको लागि अवार्ड कार्यक्रम गर्न लागेका हौं, सबैको साथ र सहयोगमा अवार्ड कार्यक्रमलाई सम्पन्न गर्नेछौं’ अध्यक्ष बरालले भने । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रममा सहयोग गर्न सबै खेलप्रेमी महानुभावलाई उनको आग्रह छ ।

पोखरा सभागृह हलमा हुने कार्यक्रम मार्फत मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गर्नेछ ।

अवार्ड कार्यक्रमको थप आर्कषणमा साँस्कृतिक कार्यक्रम समेत रहनेछ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी खेलकुद बिटमा कलम चलाउने पत्रकारको संस्था हो । मञ्चमा गण्डकी प्रदेशका ५६ जना पत्रकार आवद्ध छन् । मञ्चले २०७३ सालबाट अवार्ड कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close