प्रदेशस्तरिय टेबल टेनिसमा दिपकराज र मुनाले जिते स्वर्ण

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय टेबल टेनिस पुरुष सिंगल्समा कास्कीका दिपकराज गिरी र महिलातर्फ मुना थापाले स्वर्ण पदक जितेका छन् ।

प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला टेबल टेनिसको संघको आयोजनामा बुधबार सम्पन्न फाइनल प्रतियोगितामा उनीहरुले स्वर्ण पदक जितेका हुन् । स्वर्ण पदक संगै उनीहरुले जनही नगद ८/८ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेलमा दिपकराजले बागलुङका दिपनिशान शाहीलाई ३–१ को सेटमा पराजित गरे । पहिलो सेट ११–४ ले जितेका दिपकराजले दोश्रो सेट ७–११ ले दिपनिशानलाई सुम्पिए । तर तेश्रो र चौथो सेट समान ११–७, ११–७ ले जित्दै स्वर्ण पदक जिते । रजत पदक बिजेता दिपनिशानले नगद ५ हजार प्राप्त गरे ।

पुरुष सिंग्लसमा कास्कीका किशन जिशी र नविन गुरुङले काश्य पदक जिते । उनीहरुले जनही नगद ३–३ हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यता महिलातर्फ कास्कीकी मुना थापाले फाइनलमा ३–१ को सेटमा कास्कीकै तृषा गुरुङलाई पराजित गरिन् । पहिलो सेट ७–११ ले तृषालाई सुम्पिएकी मुनाले लगातार तिन सेट आफ्नो पक्षमा पार्न सफल भइन् । उनले १२–१०, ११–३ र १२–१० ले खेल आफ्नो पक्षमा पारिन् । उपविजेता तृषाले नगद ५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेकी छन् ।

महिलातर्फनै कास्कीकी सक्रिया पोखरेल र बागलुङकी सेजल बाँनियाले काश्य पदक प्राप्त गरे । उनीहरुले जनही नगद ३/३ हजार हात पारेका छन् ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचन, केशव पाठक, कास्की टेनिसका अध्यक्ष उत्तम जोशी, प्रशिक्षक रजन सुब्बा, सचिव कृष्ण रानाभाटलगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

दुई दिन सम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका नवलपुर बाहेक़ १० जिल्लाबाट २६ खेलाडीहरु र ८ व्यवस्थापक एवम् प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close