
पोखरा स्पोर्ट्स । पोखरा रंगशालाको स्केट पार्कको सरसफाई सुरू गरिने भएको छ । विदेशी दाताहरुले आफैले करिब ६ वर्ष अघि निर्माण गरेको सो स्केटपार्कमा एकाध प्रतियोगिता बाहेक आयोजना हुन सकेको छैन ।
जिल्ला खेलकुद विकास समिति कास्कीले पोखरा रंगशालाका सबै खेल पूर्वाद्धारहरुको सरसफाई, मर्मत एवं संरक्षणका लागि अभियान सुरू गरेसँगै ओझेलमा परेको स्केटपार्क समेत सरसफाई हुने भएको हो । जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङले पोखरा रंगशालालाई अझै आकर्षक, सुन्दर बनाउन सबै खेल संघहरुलाई निर्देशन दिएको बताउँदै उनीहरुकै सहकार्यमा सरसफाई एवं मर्मत कार्य सुरू गरिएको बताए ।
यता कास्की स्केटबोर्ड संघका अध्यक्ष रामचन्द्र कोइरालाले दाताहरुले बनाएको पोखरा रंगशालाको स्केटपार्कको सरसफाई एवं मर्मत कार्य गरिने पोखरा स्पोर्ट्ससँगको कुराकानीमा बताए । उनले स्केट पार्कमा आवश्यक केही निर्माण कार्य समेत रहेको बताउँदै अब दैनिक सञ्चालन तथा स्केटपार्कको संरक्षणका लागि जिल्ला खेलकुदको सहकार्यमा चलायमान हुने गरी अघि बढाइने बताए ।
कास्की स्केटबोर्ड संघले अब चाँडै नै राष्ट्रियस्तरको समेत प्रतियोगिताको तयारी सुरू गर्ने बताउँदै अध्यक्ष कोइरालाले स्केटपार्कमा अब कार्यालय स्थापना गरेर सबै खेलाडीहरुका लागि सहज बनाउनेतर्फ समेत संघले योजना बनाएको बताए ।
