
पोखरा स्पोर्टस । आठौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा गण्डकीको महिला टिमले सहभागिता नजाउने भएको छ ।
नेपाल भलिबल संघको आयोजनामा हुने च्याम्पियन्सिपका लागि प्रकाशित खेल तालिका अनुसार प्रतियोगितामा सात महिला र पुरुषतर्फ १३ टिमको सहभागिता हुने भएको हो । महिलातर्फ गण्डकीको सहभागिता नहुने भए पछि गण्डकी महिला टिमकी कप्तान समेत रहेकी अरुणा शाही एभरेष्ट भलिबल क्लबबाट सहभागिता जनाउने भएकी छन् ।
चैत ३ देखि १० गतेसम्म काठमाण्डौमा संचालन हुने प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ टोलीको सहभागिता रहेको छ । च्याम्पियन्सिपको समूह विभाजनमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश एकै समूहमा परेका छन् । उद्घाटन खेलमा गण्डकी र त्रिभुवन आर्मी क्लब आमने सामने हुनेछन् ।
महिलातर्फ नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेश समूह ‘ए’ र चन्द्रागिरी नगरपालिका न्यू डायमन्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश समूह ‘बी’मा रहेका छन् ।
पुरुषतर्फ समूह ‘ए’ मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् भने समूह ‘बी’ मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् ।
त्यस्तै समूह ‘सी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब रहेका छन् ।
प्रतियोगितामा हरेक समूहबाट शीर्ष २ टोलीले नकआउट चरणमा स्थान पक्का गर्नेछन् । पुरुषतर्फ क्वाटरफाइनल र महिलातर्फ सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । यससँगै च्याम्पियनसिपबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ ८ शीर्ष टोली एनभिए लिगका लागि छनौट हुने भलिबल संघले जनाएको छ ।
प्रतियोगिताको दुवै तर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान नगद रु ४०–४० हजार तथा विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही समान नगद रु १५–१५ हजार प्राप्त गर्नेछन् ।
