
पोखरा स्पोर्ट्स । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ आइतबार पोखरा रंगशाला प्रवेश गरे । आफ्नो नवगठित दलको प्रचारका लागि देश दौडाहामा रहेका मन्त्री घिसिङ पहिलो पटक पोखरा रंगशालामा प्रवेश गरेसँगै अचम्भित बने । उनले सबैलाई सुनाउँदै भने–“ओहो यो त खेल पर्यटनका लागि महत्वपूर्ण रहेछ ।”
मन्त्री कुलमान घिसिङलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङसहित विभिन्न खेलकुद संस्था एवं प्रदेश खेलकुद परिषदका सदस्यहरुले स्वागत गरे ।
पोखरा पोखरा रंगशालाको आफ्नै दुःख छ । निर्माण सम्पन्न भएको डेढ दशक वित्नलाग्दा समेत देशकै ठूलो फुटबल स्टेडियमले अन्तर्राष्ट्रिय प्रतियोगिताको मुख देख्न पाएको छैन । फुटबल स्टेडियमा फ्ल्ड लाइट र स्कोरबोर्ड नहुँदा देशकै ठूलो स्टेडियम सामाजिक सञ्जालमा फोटो सजाउनका लागि मात्रै भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार समेत सम्हालेका मन्त्री घिसिङले पोखरा फुटबल स्टेडियमलाई चलायमान बनाउन आफूले अर्थ मन्त्रालयसँग कुरा अघि बढाउने पत्रकारहरुको जवाफमा बताए । उनले भने–“यति ठूलो र राम्रो पूर्वाधार रहेछ । सम्पूर्ण कार्य गर्नका लागि के कति खर्च लाग्छ त्यसको लागतसहित म अर्थ मन्त्री ज्यूलाई भेटेरै कुरा गर्छु । भौतिक पूर्वाधार मन्त्रालयबाट जति सक्दो छिटो निर्माण सम्पन्न गर्न मेरो पहल हुनेछ ।”
मन्त्री घिसिङले एक प्रश्नको जवाफमा यो चुनावी सरकार भएको र छोटो समयका लागि आएको बताउँदै उनले तीन/चार महिना भित्रै निर्माण भने हुन नसक्ने जनाए । “अहिले नै तत्कालै हुन्छ भन्ने होइन समय लाग्न सक्छ”, उनले भने, “तर यो फ्ल्डलाइट, स्कोरबोर्ड लगायत अन्य कार्य सम्पन्न गर्न मेरो सक्दो पहल हुनेछ ।” आफू पहिलो पटक पोखरा रंगशाला आएको बताउँदै यहाँको वातावरण निकै रमाइलो लगेको बताउँदै उनले निर्माणका लागि ्प्रक्रियागत विषय हुने भएकोले सो का लागि आफूले पहल गर्ने बताए ।
पोखरा रंगशालाको बारेमा जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख डिवी नेपालीले मन्त्री घिसिङलाई जानकारी गराएका थिए ।
