उसुको ओलम्पिक सोलिडेरिटी टेक्निकल कोर्स सम्पन्न, नेपाली उसु विकासमा नयाँ अध्याय : एनओसी अध्यक्ष श्रेष्ठ

पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी को सहकार्यमा आयोजित पाँच दिने ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स काठमाडौंमा आज सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय उसु इतिहासमै पहिलोपटक नेपालमा आयोजना गरिएको यो कोर्स आइतबारदेखि बिहीबारसम्म डल्लुस्थित अर्थक्वेक मेमोरियल मल्टिपर्पोज कभर्डहलमा सम्पन्न भएको हो ।

कोर्समा सातै प्रदेश तथा विभागीय टोलीसहित ६५ जना प्रशिक्षकको सहभागिता भएको नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिए । थाउलु विधाका प्रा. लिन छाउमिन र सान्दा विधाका एइ उईले प्रशिक्षण दिएका थिए । कोर्सको समापन रोयल सिङ्गी होटलमा सम्पन्न भएको थियो ।

समापन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले खेलमा उत्कृष्ट नतिजा ल्याउनका लागि प्राविधिक सीप र नियमबारेको गहिरो बुझाइ आवश्यक हुने बताउँदै भने, “खेलाडीले मेहेनत गरे पनि पोइन्ट लिन नसकिए यसको अर्थ रहँदैन । यस्तो कोर्सले पोइन्ट कसरी लिन सकिन्छ र खेल नियम के हो भन्ने बुझ्न ठूलो सहयोग मिल्छ ।”

उनले विदेशमा गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यताबाट यस कोर्सले प्रशिक्षकहरूलाई मुक्त गरेको उल्लेख गर्दै भने, “विदेशमा यस्तो तालिम लिन एक जनाले तीन–चार लाखसम्म खर्च गर्नुपथ्र्यो । तर यसपटक अन्तर्राष्ट्रिय विज्ञहरूलाई नेपालमै ल्याएर प्रशिक्षण दिन पाउनु ठूलो अवसर हो ।”

संघका महासचिव लामाले अन्तर्राष्ट्रिय उसु महासंघसँग समन्वय गरी नेपालमा कोर्स सञ्चालन गर्न सहयोग पुर्‍याएकोमा अध्यक्ष श्रेष्ठप्रति धन्यवाद व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं महानगरभित्रका ११ वटै पालिकालाई उसु खेलसँग जोडिन आग्रह गर्दै स्थानीय तहले खेल विकासका लागि वर्षेनि डेढ करोड रूपैयाँभन्दा बढी लगानी गरिरहेको जानकारी दिए ।

थाउलु प्रशिक्षक प्रा. लिन छाउमिनले नेपालमा सम्पन्न कोर्सले राष्ट्रिय स्तरमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् ।

नेपाल उसु महासंघका अध्यक्ष वीरबहादुर तामाङले पाँच दिने कोर्सले नेपाली उसु खेल विकासको यात्रामा नयाँ अध्याय थपेको बताए । कोटा तोकिए पनि अन्तर्राष्ट्रिय प्रशिक्षकलाई उपलब्ध गराउन सकिने भएपछि निर्धारितभन्दा बढी प्रशिक्षक सहभागी भएको महासचिव लामाले जानकारी दिए । कोर्समा भारतबाट थाउलुमा २ र सान्दामा ४ गरी ६ जना प्रशिक्षक सहभागी  थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close