वर्ल्ड पावरलिफ्टिङकी च्याम्पियन शर्मिलालाई पोखरामा स्वागत

पोखरा स्पोर्ट्स । वर्ल्ड पावरलिफ्टिङ च्याम्पियनसिपकी उपाधि बिजेता शर्मिला शाहलाई बिहिबार पोखरामा स्वागत गरिएको छ । हालै श्रीलंकाको कोलम्वोमा सम्पन्न उक्त प्रतियोगितामा शर्मिला महिलातर्फ ओभरअल च्याम्पियन हुदै उपाधि जितेकी थिइन् ।

काठमाण्डौ हुदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आफ्नो मुल थलो पोखरा आएकी शर्मिलालाई बुल्समेन क्लब पोखराले विमानस्थलमा पुगेर स्वागतसँगै तथा बधाई दिएको हो । 

बुल्समेन क्लबकी कार्यसमिति सदस्य समेत रहेकी शर्मिलालाई क्लबका अध्यक्ष नुना गुरूङले स्वागत गर्दै बधाई दिएका थिए । सो अवसरमा जिल्ला पावरलिफ्टिङ संघका पदाधिकारी र उनको परिवार समेत स्वागतका लागि विमानस्थल पुगेका थिए ।

५ वर्ष अघिबाट पावरलिफ्टिङ खेलमा भिजेकी शर्मिलाले यो जितले आफूलाई निकै हौसला दिएको बताइन् । उनले भनिन्–‘मैले सोचेको पनि थिइन वर्ल्ड कम्पिटिशनमा यति ठूलो उपलब्धी प्राप्त गर्न सक्छु भनेर । तर म मा निकै आत्मविश्वास थियो । सबै नेपाली दिदि बहिनी र परिवारको साथ थियो । उहाँहरुको आर्शिवादले मैले आज यो स्थान प्राप्त गर्न सके ।’

तीन महिना अघि मात्रै नेपालमा सम्पन्न एसियन च्याम्पियनसिपमा आफूले काश्य पदक जितेको स्मरण गर्दै तीन महिनाको दौरानमा आफू वर्ल्ड च्याम्पिपनसिपको तयारीमा जुटेको बताइन् । ‘यो मेरो लागि गौरवको क्षण थियो’, उनले पोखरा स्पोर्ट्स संग कुरा गर्दै भनिन्–‘प्रतियोगितामा मैले अस्ट्रेलिया, भारत, पाकिस्तान, रसियालगायतका देशका खेलाडीहरुलाई पछि पार्दै च्याम्पियन बने ।’

पोखरा ११ फुलबारीकी स्थायी बासिन्दा उनी १२ वर्ष देखि निरन्तर पर्शनल फिटनेशमा कार्यरत रहेकी छन् । शर्मिलाले अब सबै महिलाहरुलाई यो खेलप्रति आकर्षण बढाउन आफूले सक्दो मेहनत गर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close