
पोखरा स्पोर्टस । ओलम्पिक दिवस २०२२ को अवसरमा आयोजित चौथो न्यू ग्यालेक्सी छात्र/छात्रा बास्केटबलको उपाधि आयोजक विद्यालयलेनै जितेको छ ।


पोखरा नदिपुर ३ स्थित विद्यालयको आफ्नै कोर्टमा सम्पन्न फाइनलमा छात्रतर्फ लेस्पर पर्वत र छात्रातर्फ मर्दीखोलालाई पराजित गर्दै विद्यालयले उपाधि जितेको हो । हालै एसइई परिक्षा दिएर नतिजाको पर्खाईमा बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजित उक्त प्रतियोगितामा छात्रतर्फ न्यू ग्यालेक्सीले पर्वतको लेस्पर टोलीलाई ८२–४९ को स्कोरले पराजित गर्दै नगद ११ हजार हात पार्न सफल भयो भने उपविजेता लेस्परले नगल ६ हजार प्राप्त गरेको छ ।
त्यसै गरी छात्रातर्फको खेलमा आयोजक विद्यालय न्यू ग्यालेक्सीलेनै मर्दीखोला सम्मिलित टोलीलाई २०–१६ को स्कोरले पराजित गर्दै नगद ८ हजार र उपविजेता टोली मर्दी खोलाले नगद ५ हजार हात पारेको छ । तिन दिन देखि जारी प्रतियोगितामा छात्रतर्फ लेस्परका विपिन पुन र छात्रातर्फ मर्दीखोलाकी सुस्मिता गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने हाइस्कोररको उपाधि न्यू ग्यालेक्सीका आशिष छजाली र सदिक्षा पुन बन्न सफल भएका छन् । उनीहरु सबैले ट्रफी र प्रमाणपत्र हात पारे ।
प्रतियोगितामा विजेता खेलाडी तथा टिमलाई नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाट, समाजसेवी एवम विद्यालयका अभिभावक राम बहादुर शाही, विद्यालयका प्रिन्सिपल डा.रामजी शर्मा, विद्यालयका निर्देशक राजु कायस्थ, विद्यालयका भाइस प्रिन्सिपल राजेश भण्डारी, विद्यार्थी संयोजक धन प्रसाद श्रेष्ठलगायतले मेडल, प्रमाणपत्र तथा नगद वितरण गरेका थिए ।
विद्यालयकी अध्यक्ष लक्ष्मीमायाँ कायस्थको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्पोर्टस फर अल कमिसन गण्डकीका अध्यक्ष खड्ग बहादुर रानाभाटले ओलम्पिकको महत्वका बारेमा आफ्ना भनाई राख्दै खेलाडीहरुलाई अनुशासनमा रहेर आफ्नो खेल क्षमता प्रदर्शन गर्न आग्रह गरेका थिए भने विद्यालयका प्रिन्सिपल डा.शर्माले यूवाहरुमा अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्न विद्यालयले प्रतियोगितालाई निरन्तरता दिएको बताए ।
लिगकम नकआउट आधारमा सम्पन्न उक्त प्रतियोगितामा जिल्लास्तर बाट १२ टिम सहभागी रहेको विद्यालयका खेलकुद तथा डिसिप्लिन इन्चार्ज तथा प्रतियोगिताका खेल संयोजक क्याप्टेन विर बहादुर गुरुङले जानकारी गराएका छन् ।
