
पोखरा स्पोर्टस । नेपाली बक्सर चन्द्रबहादुर थापा दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनशिप–२०२५ को क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
जारी प्रतियोगिताको ५४ किलोग्रामतर्फ अर्मेनियाली बक्सर डेभिट रेगुरायनलाई ४–० को निर्णयले पराजित गर्दै उनले अन्तिम आठमा नाम लेखाएका हुन् । उनी सहित यस अघि नेपाली अर्का बक्सर लाल प्रसाद उप्रेतीले ४८ किलो तौल समुहमा माल्युदोभाका खेलाडी माथि युनानिमस जीत हासिल गर्दै आठौं स्थानमा प्रवेश गरिसकेका छन् ।
क्वार्टरफाइनलमा चन्द्र बहादुरले इरानका बक्सरको सामना गर्नेछन् भने लालप्रसादले काजाकास्तानका बक्सर संग भेट पक्का गरेको नेपाल बक्सिङ संघका महासचिब मान बहादुर भण्डारीले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।
विश्व बक्सिङमा नेपाली दुई बक्सरहरु क्वार्टरफाइनलमा प्रवेश गर्दै इतिहास रचेकोमा महासचिब मान बहादुर भण्डारीले बधाई दिएका छन् । उनले भनेका छन्–“यो नेपालको बक्सिङ खेलको इतिहासमा पहिलो रेकर्ड हो । विश्व बक्सिङको इतिहासमा दुई–दुई जना खेलाडी क्वार्टरफाइनलमा पुग्नु गर्वको विषय हो । यो इतिहास रच्न सफल खेलाडीद्वय चन्द्रबहादुर र लालप्रसाद लाई म बधाई दिंदै सेमीफाइनलमा जितको शुभकामना दिन चाहन्छु ।”
अब हुने खेलमा दुबै खेलाडी बिजय हासिल गर्दै सेमीफाइनलमा स्थान बनाउन सके कम्तिमा पनि ७५ हजार डलर (नेपाली रूपैया एक करोड आठ लाख) रकम जित्ने छन् । आइबाले उक्त विश्व च्याम्पियनशिपमा बिजेता लाई तिन लाख डलर, उप बिजेतालाई एक लाख पचहत्तर हजार डलर र तृतीय हुने दुइ जनालाई पाच हत्तर हजार डलर पुरस्कार राशिको घोषणा गरेको छ ।
