
पोखरा स्पोर्ट्स । पोखरामा महिला फुटबलका लागि आफ्नो परिचय बनाएको आर.एस फुटबल क्लबले महिला फुटबल गोल्कपको तयारीमा जुटेको छ । पोखराको महिला फुटबल इतिहासमा नै पहिलो पटक महिला गोल्डकपको तयारीमा रहेको क्लबले आइतबार प्रतियोगिताको लोगो सार्वजनिक गरेको हो ।
क्लबका अध्यक्ष रमेश कार्कीले आगामी चैत्रको पहिलो साता ‘महिला फुटबल गोल्डकप’का लागि तयारी सुरू गरिएको जानकारी दिंदै प्रतियोगितामा विभागिय क्लब र ए डिभिजनका क्लबसहित ८ टिमको सहभागिता रहने जनाए । उनले भने–‘पोखराको फुटबल इतिहासमा नै पहिलो पटक महिला गोल्डकपको तयारी सुरू गर्ने तयारीमा छौं । यसले नेपाली फुटबल खेलसँगै महिला खेलाडी उत्पादनमा समेत प्रभावकारी भूमिका खेल्ने छ ।’ उनले एक टिम मित्रराष्ट्र भारतबाट समेत निम्त्याउने गरी योजना बनाइएको बताए ।
आफ्नो क्लब गोल्डकपको तयारीमा रहेको जनाउँदै अध्यक्ष कार्कीले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् । ‘यो प्रतियोगिताले यस क्षेत्रमा फुटबलमा रुची राख्नेहरुका लागि सम्भावनाको ढोका खोल्ने मात्रै नभई फुटबल विकासका लागि समेत कोशेढुङ्गा सावित हुनेछ । . म फुटबल प्रेमीहरुलाई सहयोगका लागि आग्रह गर्दछु’, उनले भने ।
एन्फा महिला क्वालिफायर लिगमा आफ्नो बलियो उपस्थिती जनाउँदै छनौट हुन सफल आर एस क्लब क्लब पोखराको महिला फुटबल टिम इतिहासमानै पहिलो ए डिभिजनको क्लब समेत हो । आर एस क्लब क्लब पोखराले पुष ११ देखि २२ गते सम्म उदयपुरमा आयोजना हुने एन्फा उमेन्स च्याम्पियनसिप र फागुनमा आयोजना हुने एन्फा नेशनल उमेन्स लिगमा समेत सहभागिता जनाउने तयारीमा रहेको अध्यक्ष कार्कीले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
