पोखरा मासिक दौड : एन्जिला १२औं पटक लगातार विजेता, चालकहरु पनि दौडे

पोखरा स्पोर्ट्स । नेपाल भूतपूर्व खेलाडी मञ्चलले आयोजना गरेको मासिक दौड अन्तर्गत छात्रा ५ किमि दौडमा एन्जिला जिटी लगातार १२औं पटक विजेता बनेकी छन् । मञ्चले आफ्नो रजत वर्षको अवसरमा सुरूवात गरेको मासिक दौडमा उनी निरन्तर विजेता बनेकी हुन् । मेघराज माविमा अध्ययनरत उनले शनिबार रंगशालामा सम्पन्न दौड पुरा गर्न २२ः२६ः०७ सेकेण्डको समय लिएकी थिइन् ।

त्यस्तै छात्रातर्फनै गौरी शंकर माविकी कविता मगर दोस्रो र रुवी हमाल तेस्रो भइन् । श्रीलक्ष्मी आदर्शकी सोनी गुरूङ चौथो तथा बालोदयकी शेरेना प्रधानाङ्गले पाँचौ स्थान हात पारिन् ।

यसै गरी छात्रतर्फ माछापुच्छ्रे माविका इश्वर पुर्जाले १६ः१८ः५१ सेकेण्डमा दौड पुरा गरी पहिलो हुदा सोही विद्यालयका राजिव बास्तोला दोस्रो भएका छन् । बालोदयका प्रतिक वाग्ले तेस्रो, जनप्रियका सन्देश श्रेष्ठ चौथो र सेन्ट फ्रान्सिसका प्रशान्त थापाले पाँचौ स्थान हात पारे ।

यता मासिक दौडअन्तर्गत शनिबार ५ किमि चालक दौड सम्पन्न भएको छ । सो दौड अन्तर्गत आइलाल शाही पहिलो बने भने बुद्ध बहादुर कंवर दोस्रो, सुरेश नेपाली तेस्रो, शोभकान्त पौडेल चौथो र राज गुरूङले पाँचौ स्थान हासिल गरेका छन् । त्यस्तै महिला चालकतर्फ सहभागि विष्णु कुंवरले सहभागिता जनाएकी थिइन् ।

विजेताहरुलाई कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक नविन कार्की, मञ्चका पूर्व अध्यक्ष तेज बहादुर गुरूङ, निवर्तमान अध्यक्ष हरि प्रसाद पराजुली, पोखरेली मञ्च युकेका पूर्व उपाध्यक्ष बाचस्पती रेग्मीलगायतले मेडल, प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर वितरण गरेका थिए ।

मञ्चका अध्यक्ष दिल बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक कार्कीले समाजमा अनुशासन कायम गर्न खेलकुदको अपरिहार्यता रहेको बताए ।

त्यस्तै मञ्चका अध्यक्ष गुरूङले स्वस्थ्य नागरिक उत्पादनसंगै समाजमा दौड संस्कृतिबारे सचेतना फैलाउन मासिक दौड अभियानको रुपमा अघि सारिएको जनाउँदै दौड कार्यक्रमलाई पोखराका ३३ वटै वडामा पुर्याउने लक्ष्य लिइएको बताए । उनले फागुन २ मा आयोजना हुने २० औं सस्करणका लागि चालकहरुलाई विशेष सचेतना जगाउन दौडमा सहभागिता गराएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close