
पोखरा स्पोर्ट्स । भारतीय ब्याट्सम्यान विराट कोहलीले एकदिवसीय क्रिकेटमा लगातार दोस्रो शतक बनाएका छन् ।
आफ्नो उत्कृष्ट फर्म देखाउदै कोहलीले दक्षिण अफ्रिकाविरुद्ध लगातार दोस्रो शतक बनाएका हुन् । बुधबार जारी दक्षिण अफ्रीकाविरुद्धको खेलमा कोहलीले ९० बलमा शतक पुरा गरेका थिए भने ९३ बलमा १०२ रन बनाएर आउट भएका छन् ।
यो कोहलीको ५३औं एकदिवसीय शतक हो र समग्रमा उनको ८४औं शतक हो । कोहलीले एकदिवसीय शतकको हिसाबले सबैलाई उछिनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै शतक बनाउने रेकर्ड सचिन तेन्दुलकरको नाममा छ, जसले १०० शतक बनाएका छन् ।
केही समयदेखि, २०२७ को एकदिवसीय विश्वकपमा कोहलीको सहभागिताको बारेमा निरन्तर छलफल भइरहेको छ । यद्यपि, कोहलीको हालको फर्मले यस विश्वव्यापी प्रतियोगिताको लागि उनको दाबीलाई बलियो बनाएको छ । कोहली अब भारतको लागि एकदिवसीय ढाँचामा मात्र खेल्ने बताएका छन् ।
यस खेलमा भारतका अर्का ब्याट्सम्यान ऋतुराज गायकवाडले पनि शतक बनाएका छन् । गायकवाडले १०५ रन बनाएर आउट भएका छन् ।
