
केशब पाठक,
पोखरा, ११ असार । यति बेला नेपाली खेलकुदको छाता संस्था राष्ट्रिय खेलकुद परिषद (राखेप) को सर्वोच्च कार्यकारी सदस्य सचिबको पद यहि असार १० गते बाट रिक्त छ । पदको रिक्तता संगै नयाँ सदस्य सचिब को बन्ला भन्ने चर्चा पनि उत्तिकै छ । यहि असार ९ गते सदस्य सचिब पद बाट केशब कुमार विष्ट आफ्नो चार वर्षे कार्यकाल पुरा गरे पछि लगतै अबको सदस्य सचिब को भन्ने बारे कौतुहुलता शुरु भएको हो ।
यति बेला खेलकुद जगत भित्र सदस्य सचिब हल्ला चलिरहँदा अबको सदस्य सचिब क्षमतावान र खेलकुदको जग मात्रै नभई खेल र खेलाडीको भावनालाई आत्मसाथ गर्ने व्यक्तिको खाँचो रहेको सबैको चर्चाको विषय हुने गरेको छ । नेपाली खेलकुदको नेतृत्व बाट जहिले पनि खेलाडीहरु छल कपट ब्योहोरि रहेका छन । जसका कारण खेलकुद बाट केही गरौं भन्नेहरु पलायनको स्थिती बाट गुज्रिदैं विदेशी भूमीमा पुग्नु परेको छ । जसले राष्ट्र चिनाउन विदेशी भूमिमा देशका लागि खेल्यो त्यो नेपाली खेलकुदको भविष्य देखेर आजित हुँदै त्यर्ही लुक्ने वातावरण बन्ने कुराको चुनौतीलाई नयाँ सदस्य सचिबले पक्कै पनि चिर्न सक्नु पर्छ ।
नयाँ नेपाली खेलकुद अब नयाँ सोचका साथ अगाडी बढ्नु पर्छ न की यसमा कुनै पनि राजनितिक गन्ध आओस । खेलकुदका २ सय भन्दा बढी संस्था राखेपमा दर्ता छन । कसैलाई काखा कसैलाई पाखा गर्ने स्थिती पनि नबनोस । खेलकुदको जगलाई धानेका केही प्रशिक्षकहरुलाई राजनितिक आस्थाका आधारमा हुर्मत लिने काम नहोस । प्रशिक्षकहरुलाई चलायामान बनाउँदै खेलकुद संघहरुलाई ३/३ महिनामा कुनै न कुनै खेलकुद गतिविधी गर्न सघाउ पुर्याओस । हरेका महिनामा प्रशिक्षकहरु बाट प्रतिबेदन माग्ने र ६/६ महिनामा रिफ्रेशर कोर्ष गर्ने वातावरण बनाउन आवश्यक छ ।
अहिले कुनै पनि खेलकुद कार्यक्रममा खेलकुद संघलाई सम्झिने वातावरण स्वय राखेपले बनाउँदै आएको छ । वर्षमा एक पटक कार्यक्रमको प्रतिवेदन माग्ने अनि त्यसलाई दराजमा थन्काउने काम परिषद बाट हुँदै आएको छ । संघले बोलाएको कार्यक्रममा भाषण बजाउने अनि वर्ष भरि नसम्झिने काम पूर्व सदस्य सचिहरु बाट हुँदै आएका छन । कुन खेलमा कति लगानी आवश्यक पर्छ र कसरी संघहरुलाई परिचालित गर्ने भन्ने खाका परिषदले हालका दिन सम्म पनि गर्न सकेको छैन । यसलाई गम्भिर भएर लागु गर्न र खेलकु्द संघलाई राजनितिक नियुक्ती भन्दा पनि खेलकुद बिकासका लागि परिचालति गरेर अगाडी बढ्न नयाँ सदस्य सचिबका लागि चुनौती छ ।
खेलकुदमा अगाडी बढेका खेलकुद पूर्वाद्धार बिकासमा परिषदको नेतृत्व भ्रष्टाचार बाट टाढा बस्न सक्नु पर्छ । जहिले पनि पूर्वाद्धार बिकासका काममा भ्रष्टाचारको कुरा सुनिदैं आएका विषय हुन । यस बाट चोखिनु र जोगिनु नयाँ सदस्य सचिबका लागि थप चु्नौती बन्न सक्छ । समयको माग संगै खेलकुद पूर्वाद्धार बिकास आवश्यक छ तर कुन पूर्वाद्धार कहाँ कसरी गर्ने भन्ने बारे नयाँ ढङ बाट सोच्न आवश्यक छ । हतारमा निर्माण भएका कामले फुर्सतमा पछुताउने पर्ने धेरै काम हरु भएका छन भने अर्को तिर एक वर्षमा सक्ने काम ६ वर्षमा समेत पुरा हुन सकेका छैनन । यो अर्को चुनौती हो ।
यस्ता विभिन्न चुनौतीका सामुन्ने नयाँ सदस्य नियुक्त गर्न यूवा तथा खेलकुद मन्त्रालयलाई पनि उत्तिकै चुनौती छ । सदस्य सचिबको नियुक्ती राजनितिक नियुक्ती भए पनि अबको नियुक्ती भने सहि अर्थमा खेलकुदलाई बुझेको नै हुनु पर्छ ।
को को छन अगाडी ?
सदस्य सचिबको पद रिक्तता संगै केही व्यक्तिहरुको नाम अगाडी सुन्नमा आएको छ । हालै कार्यकाल पुरा गरि बाट बाहिरिएका केशब कुमार विष्ट संगै राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना र राखेपका बोर्ड सदस्य रहेका राजेश कुमार गुरुङको नाम पनि चर्चामा छ । यसै गरि नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ र भलिबलका संघका पूर्व अध्यक्ष दान बहादुर तामाङ पनि चर्चामा छ । नाम चर्चामा रहेका मध्येमा शिब कोइराला र हालै राखेपमा लामो समय बिताएर उच्च पद बाट सेवा निर्वित रिम बहादुर रानाभाटको नाम पनि चर्चामा रहेको छ । शिब कोइराला खेलकुद महासंघका उपाध्यक्ष समेत हुन ।
यति बेला १३ औं दक्षिण एशियाली खेलकुद (साग) को पूर्वाद्धार निर्माण तिव्र गतिमा भइरहेको र यसको सम्पूर्ण जानकारी निवर्तमान सदस्य सचिब विष्टले राख्ने भएकोले कम्तिमा पनि साग खेल सम्म उनलाई नै सदस्य सचिब बनाउनु पर्छ भन्ने चर्चा चलेको छ । तर केहीले उपाध्यक्ष पिताम्बर तिम्सिनालाई नै कार्यकारी बनाएर अगाडी बढन सुझाब दिएको सुत्रले जनाएको छ । पिताम्बर आफैले पनि सार्बजनिक मन्तव्यमा आफू सदस्य सचिब नबन्ने बताउँदै आएका छन । तर उनी सदस्य सचिब पदको दुढ आकाक्षीं हुन भन्ने देखिंदै आएको छ । उनी सदस्य सचिब नबने पनि कार्यकारी भएर अगाडी बढ्ने सम्भावना उत्तिकै प्रवल रहेको छ ।
नाम चर्चामा रहेका मध्ये राजेश कुमार गुरुङ दोश्रो पटक राखेप बोर्डमा सदस्य पदमा नियुक्ती पाएका छन । उनी पनि आफू सक्षम रहेको र खेलाडीको भावनालाई आत्मसाथ गर्न सक्ने बताउँदै आएका छन । खेल क्षेत्र बाटै आफू खेलकुदको नेतृत्वमा पुगेको र कुनै पनि पदमा बसेर आफूले काम काम गर्ने सक्ने सक्षम उम्मेदवार रहेको बताए । उनको प्रधानमन्त्रि केपी शर्मा ओली संग पनि निकटको सम्बन्ध रहेको छ । उनको त्यो निकटताले मात्रै होइन उनको खेलकुद प्रतीको लगाव उत्तिकै महत्वपूर्ण रहेको खेलकर्मीहरुले बताउँदै आएकोले पनि उनी सक्षम उम्मेदवार हुन भन्न सकिन्छ ।
त्यसै गरि पोखरा निवासी तथा नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ पनि सदस्य सचिब पदका अर्का आकाक्षीं हुन । अध्ययनशिल र खेलकुदमा राम्रो संग भिजेका गुरुङ नेपाल ओलोम्पिक कमिटीका सदस्य समेत हुन । लामो समय खेलकुदमा बिताएका गुरुङ पोखरेलीहरु माझ खेलकुदकर्मीका रुपमा लामो समय देखि परिचित छन । उनी सदस्य सचिब पदका लागि योग्य हुन भन्ने कुरा पटक–पटक चर्चा हुने गरेको छ ।
यता राखेप बाट हालै मात्र उच्च पद बाट सेवा निर्वित रहेका रिम बहादुर रानाभाटको नाम पनि सदस्य सचिब पदमा चर्चामा रहेको छ । धेरैले यो समयका लागि रानाभाट सक्षम उम्मेदवार हुन भन्ने चर्चा गरिरहेका छन । खेलकुदमा उनले बगाएको पसिनाको मुल्य अनुरुप सदस्य सचिब बन्ने हैसियत रानाभाटमा छ भन्ने चर्चा भने उत्तिकै रहेको छ । तर रमाइलो पक्ष के छ भने उल्लेखित चर्चामा रहेका नाम मध्ये बाट कोही पनि सदस्य सचिब नबनेर अर्को कोही आउने प्रबल सम्भावना पनि उत्तिकै छ ।
अबको एक साता भित्र राष्ट्रिय खेलकुद परिषदले नयाँ नेतृत्व पाउने सम्भावना रहेको छ । यसका लागि ठूलो राजनितिक दाउपेच, भेटघाट, भनसुन पनि उत्तिकै बढेको छ । तर नयाँ नेपाली खेलकुदको नेतृत्व भनसुनका आधारमा होइन नेपाली खेलकुदलाई गतिशिलता प्रदान गर्दै नयाँ खेलाडी उत्पादन गरेर अन्तर्राष्ट्रिय एरिनामा पदक जित्ने हैसियत निर्माण गर्न सक्ने क्षमतावान सदस्य सचिबको आवश्यक्ता रहेको छ ।
