
पोखरा स्पोर्टस । नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन.भि.ए. महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ ।
प्रतियोगिता सुरु भए संगै गण्डकीले खराब सुरुवात गरेको हो । पहिलो दिनमा गण्डकीको महिला र पुरुष दुबैतर्फ विभागिय टोली नेपाल पुलिस विरुद्धको खेलमा पराजित हुन पुगेको छ । यद्यपी पुरुषतर्फ भने ३–२ सेटले पराजय व्यर्होदा गण्डकीले १ अंक भने बटुलेको छ ।
आज पहिलो दिनको खेलमा पुलिसले बिदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको छ । पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अंकको अग्रता लिंदै जितको नजिक पुगेको पुलिसले आफुलाई सम्हाल्न नसक्दा २४–२६ ले गण्डकीलाई सेट सुम्प्यो ।
अन्तिम तथा निर्णाक खेलमा १५–१० ले जित हात पार्दै पुलिसले गण्डकी संग अंक बाँड्न बाध्य भयो । पुलिसको यस खेल पश्चात २ अंक र गण्डकीको १ अंक भएको छ ।
आजै भएको पुरुष तर्फको पहिलो खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लबलाई २५–८, २५–१३, २५–१७ को सहज जितका साथ महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।
नेपाल भलिबल संघको आयोजनमा भएको लिगको अर्को खेलमा एपिएफ क्लबले जित हात पार्यो । एपिएफले दावाँली मिलन क्लबलाई २५–२२, २५–१३, २५–२३ ले पराजित गरेको हो । यसका साथै एपिएफको ३ अंक भएको छ ।
आजै भएको महिलाको खेलमा पुलिसक्लबले गण्डकी माथी जित हात पार्यो । पुलिसले गण्डकीलाई २५–१०, २५–१०, २५–११ को सहजै पराजित गरेको हो । यसका साथै पुलिसले ३ आफ्नो खातामा ३ अंक जोड्यो ।
प्रतियोगितामा जित हात पार्ने टिमले आगामी डिसेम्बरमा नेपालमा आयोजना हुने काभा क्लब लिग च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछ ।
अनुमानित ७५ लाख खर्च हुने लिगमा महिला तथा पुरुष तर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् । त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिला तर्फ सर्वोत्कृष्ट खेलाडीले रु. ३५/३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही रु. १५/१५ हजार प्राप्त गर्ने छन् ।
लिगमा गत माघ महिनामा सम्पन्न क्लब च्याम्पियनसिपबाट छनौट भएका पुरुष तर्फ टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको ए.पि.एफ. क्लब, नेपाल प्रहरी, दावाँली मिलन क्लब– काठमाण्डौ, गण्डकी प्रदेश भलिबल संघ, शैलुङ्ग बाघढुङ्गा स्पोर्टस् क्लब–रामेछाप गरि ७ क्लबहरु तथा महिलातर्फ नेपाल प्रहरी, होङ्गवाङ्गजी न्यू डायमन्ड युथ स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट भलिबल क्लब–बुटवल र गण्डकी प्रदेश भलिबल संघ गरी ६ टिमहरुको सहभागिता रहेको छ ।
प्रतियोगिताकोे उप–प्रधान तथा गृह मन्त्री नारायण काजी श्रेष्ठले एक कार्यक्रमकाविच उद्घाटन गरे । श्रेष्ठले अन्तराष्ट्रिय रेफ्री गौतम प्रसाद लासिवालाई बल हस्तान्तरण गरेर लिगको उद्घाटन गरेका हुन् ।
