
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी)को सहकार्य तथा हेल्थ कन्सर्न र (पाथ)को आयोजनामा नेपालमा सञ्चालित स्वास्थ्य जोखिम न्यूनीकरण सम्वन्धि एक कार्यशाला सम्पन्न भएको छ ।

प्रशिक्षणको उद्देश्य विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेल प्रशिक्षक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत व्यवसायीहरूको क्षमता अभिवृद्धि गरी विद्यार्थी तथा समुदायमा स्वस्थ जीवनशैली प्रवर्द्धन र स्वास्थ्यमा जोखिम न्यूनीकरण गर्नु रहेको एनओसीले जनाएको छ ।
सो अवसरमा एनओसीका उपाध्यक्ष चतुरानन्द राज वैद्यले ओलम्पिक आन्दोलनका मूल मूल्य-उत्कृष्टता, मैत्री र सम्मान-बारे भनाई राख्दै खेलकुदले अनुशासित, सक्रिय र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यशालाका मुख्य उद्देश्यहरू
-खेलकुद तथा शारीरिक गतिविधि र विद्यार्थीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यबीचको सम्बन्धबारे बुझाइ सुदृढ बनाउने ।
-विद्यालयमा स्वस्थ र सक्रिय जीवनशैली प्रवर्द्धन गर्न शिक्षकको भूमिकालाई स्पष्ट तथा सबल बनाउने ।
-बिद्यालय तथा घरायसी दिनचर्यामा खेलकुद तथा स्वास्थ्यसम्बन्धी गतिविधिहरू समावेश गर्दा हुने फाइदाबारे सहभागीलाई अवगत गराउने ।
-विद्यार्थीलाई खेलकुद तथा शारीरिक क्रियाकलापमा सहभागी गराउने व्यवाहारिक उपाय र रणनीतिहरू लागू गर्न सहयोग पुर्याउने ।
-अभिभावक तथा समुदायसँग सहकार्य गर्दै विद्यालय र घरमा खेलकुद तथा स्वास्थ्य प्रवर्द्धन गर्ने वातावरण निर्माण गर्ने ।
कार्यक्रमले खेलकुद तथा शारीरिक गतिविधि राष्ट्रको समग्र स्वास्थ्य सुधारमा महत्वपूर्ण रहेकोले पनि यस प्रकारका कार्यक्रमहरुले सचेतना जगाउन भूमिका खेलेको सहभागिहरुले जनाएका छन् । खेलाडी, प्रशिक्षक, विद्यालय तथा समुदाय लक्षित सो कार्यक्रममा एनओसीका उपाध्यक्ष वैद्य र सचिव रमेश शिवाकोटीले सहभागीता जनाएका थिए ।
