
पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले शुक्रबार प्रकाशित गरेको बजेट कितावमा खेलकुदतर्फ विगत कै कार्यक्रमहरुको निरन्तरतासहित केही नयाँ कार्यक्रमहरु थपिएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीले विगत तीन वर्ष निन्तर सञ्चालन गर्दै आएको बहुआयामिक कार्यक्रममा आव २०८१/०८२ मा १० लाख बढेको छ । बढाएर ३० लाख पुर्याइएको छ । चालु आवमा खेल्छ गण्डकीमा २० लाख विनियोजित थियो ।
चालु आवमा खेल्छ गण्डकीमा २० लाख मात्रै रहेको थियो भने नयाँ कार्यक्रम अन्तर्गत पोखरा कप ह्याण्डबल प्रतियोगिता, राष्ट्रिय बास्केटबल प्रतियोगिता, पोखरा स्पोर्टस अवार्ड, सूर्यतारा वृहत खेलकुद प्रतियोगिता लगायत विभिन्न नयाँ कार्यक्रमहरु जोडिएका छन् ।
आर्थिक वर्ष २०८१÷०८२का लागि पोखरा म्याराथनको रकम १० लाखबाट घटेर ५ लाखमा झारिएको छ भने टाइगर कपको ५ लाखबाट बढेर १० लाख पुगेको छ । पोखरा म्याराथन १९ औं संस्करणको तयारीमा छ भने टाइगर कप पाँचौ सस्करणको तयारीमा छ । यस्तै गण्डकी प्रदेशको विगत तीनवर्ष देखि निरन्तर सञ्चालनमा रहेको परम्परागत खेलकुदको बजेट समेत १० लाख घटाइएको छ ।
यस्तै प्रदेश सरकारले जिल्ला खेलकुद विकास समितिका कार्यालयहरुको निर्माणमा समेत चासो देखाउँदै बागलुङ, नवलपुर र लमजुङमा जिल्ला खेलकुद विकास समितिका कार्यालय निर्माणमा २५ लाख बजेट विनियोजन भएको छ भने पर्वत जिल्ला भने यसबाट बाहिर राखिएको छ । यस्तै नवदुर्गा खेल क्रिकेट खेल मैदान नवलपुरको स्तरोन्नतीका लागि १० लाख, विभिन्न खेल मैदान मर्मत सम्भार १९ लाख ८० हजार, खेलकुद प्रतियोगिताका लागि मैदान मर्मत सम्भार ३५ लाख विनियोजन भएको छ ।
कुन प्रतियोगिता/कार्यक्रममा कती आयो बजेट ?
राष्ट्रपति रनिङ शिल्ड ३० लाख
खेलाडी, रेफ्रि, प्रशिक्षक औषध उपचार तथा जिवन विमा २० लाख
दशौं राष्ट्रिय खेलकुद तयारी १ करोड ८० लाख
जिल्लास्तरीय जुनिय रनिङ्ग शिल्ड सञ्चालन ३० लाख
पोखरा कप ह्याण्डबल प्रतियोगिता १० लाख
पोखरा कप बास्केटबल प्रतियोगिता १० लाख
मनकामना गोरखकाली सम्म दौड ५ लाख
पोखरा स्पोर्टस अवार्ड ५ लाख
बाह्रखरी कप १० लाख
सुस्त श्रवण भएकाहरुको खेल प्रतियोगिता ५ लाख
गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता ५ लाख
परम्परागत खेलकुद प्रतियोगिता ५ लाख
खेलाडी अक्षयकोष ५ लाख
विद्यालय खेल शिक्षक तालिम १० लाख
प्रदेश खेलकुद पदक तथा वर्ष खेलाडी पुरस्कार १० लाख
बन्यजन्तु संरक्षण फुटबल प्रतियोगिता १० लाख
र्याफ्टिङ च्याम्पियनशिप १० लाख
साहशिक खेलकुद गतिविधि २० लाख
पारा खेलकुद १५ लाख
प्रशिक्षण १० लाख
त्यसै गरी विभिन्न खेल संघ संस्था जस्तै लिगलिग कोट साइकल दौड। लिगलिग कोट दौड, बगर भाइ खलक, आहा रारा गोल्ड कप, राइनो फुटबल, त्रिवेणी फुटबल कप, थारु झम्टा र भोदी खेललाई एक मुष्ट ४५ लाख विनियोजन गरिएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि खेलकुदमा आएको बजेट बारे प्रारम्भिक प्रतिक्रिया दिंदै प्रदेश खेलकुद परिषदका सदस्य सचिब श्रीधर शर्माले परिषदले तोकेको प्रस्ताव गरे अनुसारको बजेट नआउँदा गम्भिर चुनौतीको सामना गर्नुपर्ने जनाएका छन् । उनले भने–“बजेट जसरी आयो हामीलाई चुनौती छ । केही निरन्तरता दिनुपर्ने कार्यक्रममा बजेट आएको छैन । राष्ट्रिय मुआथाईलाई हामीले १५ लाख प्रस्ताव गरेका थियौं भने यस्तै अन्य महत्वपूर्ण कार्यक्रमहरुमा बजेट तल माथी भएको छ जसले कार्यान्वयनमा कठिनाइ संगै चुनौती आउने निश्चित छ ।”
परिषदले तोकेको बजेटमा संसोधन हुँदा कार्यान्वयनमा कठिन हुने सदस्य सचिव शर्माको भनाई छ । बजेटमा ट्यालेन्ट हन्ट जस्तो महत्वपूर्ण कार्यक्रम समेत समावेश नहुँदा यूवा खेलाडीहरुको उत्पादनमा समेत समस्या हुने उनले बताए ।
प्रदेश सरकारले विनियोजन गरेको खेलकुद बजेट खेलकुदमुखी हुन नसकेको केही खेल विज्ञहरुको भनाई छ । उनीहरुले भनेका छन्–“कुनै अनलाइन पत्रिकालाई खेल सञ्चालन गर्न १०/१० लाख विनियोजन गर्ने सरकारबाट खेलकुद विकासको आशा गर्न सकिन्न ।” खेलकुद बजेट खेलाडी उत्पादन र खेलकुद गतिविधिका लागि हुन पथ्र्यो । दशौं राष्ट्रिय खेलकुद तयारीका लागि बजेट बढाउनु पर्ने थियो । तर बजेटले त्यो दिशा निर्देश गर्न सकेन”–उनीहरुले भनेका छन्-“अनलाइन पत्रिकाका लागि बजेट विनियोजन हुन्छ तर खेलाडी उत्पादनका लागि महत्वपूर्ण रहेको ट्यालेन्ट हन्टलाई प्रदेश सरकारले कार्यक्रमबाटै हटाएको छ ।”
