आहा! रारा पोखरा गोल्डकप : आकर्षक ट्रफी सहारा युकेको प्रायोजन

पोखरा स्पोर्ट्स । नेपालमा निरन्तर तथा फुटबल प्रतियोगितामा रजत वर्ष टेकेको “आहा रारा पोखरा गोल्डकप” माघ २७ मा तय भएको छ ।

सहारा क्लब पोखराले “२५औं आहा रारा पोखरा गोल्डकपको” मिति घोषणा गरेसँगै सहारा क्लबका विभिन्न देशमा रहेका भातृ संस्थाहरु समेत प्रतियोगिता सफल बनाउन सक्रिय हुन थालेका छन् ।  यसै क्रममा सहारा युकेले आहा रारा पोखरा गोल्डकपमा विभिन्न विद्यागत उत्कृष्ट खेलाडीहरुलाई प्रदान गरिने ट्रफीहरु नेपाल पठाउने तयारी सुरू गरिसकेको पूर्व अध्यक्ष कुमार गुरूङले जानकारी दिएक छन् । 

“यो वर्ष रजत वर्षमा प्रतियोगिता टेकेको छ । हामी गौरव गर्छौं । त्यसैले पनि यो वर्ष विशेष बनाउनका लागि सहारा यूकेले विशेष बनाउने गरी हामिले सोच बनाएका छौं”, सहारा युकेका पूर्व अध्यक्ष गुरूङले भने, “आगामी २० डिसेम्वरमा सहारा युकेको अधिवेशन समेत हुने भएको र नयाँ कार्यसमिति आएसँगै यस बारे थप निस्कर्षमा पुग्ने छौं ।”

नेपाली फुटबलका लागि मात्रै नभई विश्वमा रहेका नेपालीहरुको लागि समेत यो वर्षको सस्करण सबैका लागि उत्तिकै चासो र महत्व राख्ने भएकोले विशेष बनाउने गरी सबैले सहकार्य गर्नुपर्नेमा जोड दिन्छन् सहारा युकेका निर्वतमान अध्यक्ष ले.रि.कुशाङ गुरूङले बताए । “यो महत्वपूर्ण क्षण हो । रजत वर्षमा कुनै प्रतियोगिता आइपुग्नु सहारा परिवारका लागि मात्रै होइन नेपाली फुटबलका लागि मात्रै उत्तिकै गौरवको विषय हो । यसको सफलताका लागि सहयोगसँगै प्रतियोगिता सफल बनाउन म आग्रह गर्दछु ।”

यसै क्रममा सहारा युकेले विगत लामो समय देखि बेलायतबाट मेडल तथा ट्रफीहरु समेत प्रतियोगिताका लागि प्रदान गर्दै आएको छ । सहारा युकेले उपाधि विजेता र उपविजेता टिमका खेलाडी प्राप्त गर्ने आकर्षक मेडलहरु, हरेक खेलको प्लेयर अफ दि म्याच, सर्वोत्कृष्ट खेलाडीलगायत सबै विद्यागतअन्तर्गत वेष्ट स्ट्राइकर, वेष्ट मिड फिल्डर, वेष्ट डिफेन्डर, वेष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट प्रशिक्षक, फेयर प्ले अवार्ड ट्रफी र अफिसियलहरु दिइने ट्रफी यस पटक समेत् निरन्तरता रहने उनले जनाए । ट्रफीसहित सहारा युकेले हरेक खेलको प्लेयर अफ दि म्याचको नगद पुरस्कार १० हजार समेत प्रदान गर्दै आइरहेको छ ।

ति ट्रफीहरु करिव १ लाख ५० हजार बराबरको रहेको तर नेपाल पठाउँदा खर्च पनि ठूलो रहेको पूर्व अध्यक्ष गुरूङले बताए । “यो हाम्रो निरन्तरता हो । अझै यो पटक त विशेष वर्ष पनि हो । सहारा युकेले प्रतियोगिता सफल बनाउन संस्थागत मात्रै नभई हामी स्वदेशको पोखरा रंगशालामा स्वयं उपस्थिती जनाएर अझै भब्य बनाउनेतर्फ अघि बढेका छौं,” उनले भने ।

आहा रारा पोखरा गोल्डकप माघ २७ गते देखि फागुन ९ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । जहाँ नेपाली ए डिभिजनका क्लबहरु, विभगिय क्लबहरु, विदेशी क्लब र आयोजक गरी १२ टिमको सहभागिता हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close