
पोखरा स्पोर्ट्स । पछिल्लो केही महिना यता पोखरा रंगशाला पूर्ण रुपमा चलायमान भएको छ । देशकै गौरव र क्षेत्रफलले समेत ठूलो पोखरा रंगशालालाई जिल्ला खेलकुद विकास समिति कास्कीले विद्यालयहरुलाई सहज रुपमा प्रवेश गर्ने वातावरण बनाएसँगै चलायमान हुन थालेको हो ।
“पोखरा रंगशाला यति बेला चलायमान भएको छ ”, जिल्ला खेलकुदका अध्यक्ष मिलन गुरूङ भन्छन”, “अहिले सबै विद्यालयहरुलाई समय मिलाएर रंगशाला आलो पालो सिस्टममा विद्यालयहरुलाई दिएका छौंं । अहिले हामीलाई धौ–धौ भएको छ ।” रंगशाला कसैलाई देखाउनका लायि पर्यटनस्थल नभएको बताउँदै उनले भने, “यो रंगशाला बनेकै खेलकुद विकासका लागि हो । प्रतियोगिता भए मात्रै खेलाडी उत्पादन हुन्छन् । त्यसैले पनि हामी विद्यालयहरुलाई सहज रुपमा रंगशाला आउने वातावरण बनाएका हौं ।”
यता जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपालीले समेत दुई महिना यता पोखरा रंगशालामा हरेक दिन खेलकुद गतिविधि हुदै आएको पोखरा स्पोर्टसलाई बताए । दैनिक २ देखि ३ विद्यालयहरुको आन्तरिक प्रतियोगिताहरु सञ्चालन भएको जनाउँदै उनले मंसिरका लागि मात्रै एक दर्जन बढि निजि तथा सरकारी विद्यालयहरुको खेलकुद कार्यक्रमहरु तय भएको जानकारी दिए ।
पोखरा रंगशालाको ट्रयाक एण्ड फिल्ड देखि, बहुउद्धेश्यिय कभर्डहल, बास्केटबल कोर्ट, भलिबल खेल मैदान, फुटबल खेल मैदान, टिटि हल, भलिबल खेल मैदान, क्रिकेट खेल मैदान, ह्याण्डबल कोर्ट, ब्याडमिन्टन हलसबैमा प्रतियोगिताहरु तय भएका छन् । मंसिरको दोस्रो साता सम्म १ दर्जन विद्यालयहरुले आफ्ना प्रतियोगिताहरु सम्पन्न गरेको र अझै १५ विद्यालयहरुले प्रतियोगिता सञ्चालनका लागि रंंगशाला परिशरका खेलस्थलहरु बुकिङ गरेका छन् ।
यसै बीच जिल्ला खेलकुदले पोखरा रंगशालालाई होलिडे स्पोर्टस कार्यक्रमहरु अघि सार्ने भए पछि खेलकुद कार्यक्रमहरु सँगै खेलकुद संघहरु समेत चलायमान हुने भएका छन् । प्याब्सन, एनप्याब्सन, हिसानमा आवद्ध विद्यालयहरुका साथै सरकारी विद्यालयहरुलाई समेत समेटेर होलिडे स्पोर्टस अघि सारिएको हो । होलिडे स्पोर्टसको समेत कार्यविधि तयार भइरहेको जानकारी दिंदै कार्यालय प्रमुख नेपालीले सो कार्यक्रम अन्तर्गत पहिलो चरणमा ८ देखि १० वटा खेलकुद प्रतियोगिताहरु नियमित विदाको समयमा सञ्चालन हुने उनले जानकारी दिए ।
