
पोखरा स्पोर्टस । नेपाल भलिबल संघको निर्वाचन आगामी भदौ २२ गते हुने भएको छ ।
हालै मात्र जिल्ला र प्रदेशको निर्वाचन सम्पन्न गरेको संघले आफ्नो केन्द्रिय अधिवेशन तथा निर्वाचन आगामी भदौ २२ मा गर्ने भएको हो । भक्तपुरमा बिहिबार सम्पन्न केन्द्रिय समितिको बैठकले भदौ २२ का लागि प्रस्तावित मिति राष्ट्रिय खेलकुद परिषद (राखेप)मा पठाउने भएको बैठकमा सहभागि गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जनाए । उनले भने–“केन्द्रिय समितिको बैठकले मिति तय गरेको छ । हामीले तय गरेको मिति राखेपमा पठाउँदै छौं ।”
निर्वाचनमा ७७ वटै जिल्लाबाट १/१ जनाले गरी ७७ जना र सात प्रदेशबाट २/२ जना गरी १४ जना तथा हालको केन्द्रीय कार्यसमितिका ३९ जना, रेफ्री कमिसनबाट १ जना, राष्ट्रिय टिमका पुरुष र महिला कप्तानले मतदान गर्न पाउने भलिबल संघमा प्रावधान रहेको छ । निर्वाचनमा ढोर पाटन भलिबल प्रशिक्षण केन्द्र, न्यू डायमण्ड स्पोर्टस् क्लव र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको समेत निर्वाचनमा मताधिकार रहेको छ ।
३९ सदस्यीय कार्यसमितिमा अध्यक्ष १, उपाध्यक्ष ५ जना, महासचिव १, सचिव ७ जना, कोषाध्यक्ष १ र १० जना खुल्ला सदस्य गरी २५ जना प्रत्यक्ष निर्वाचित हुनेछन् । १३ जनालाई निर्वाचित कार्यसमितिले मनोनित गर्नेछ भने पूर्व अध्यक्ष पदेन सदस्यका रुपमा रहने व्यवस्था छ ।
