
पोखरा स्पोर्टस । कास्की जिल्ला क्रिकेट संघको तेश्रो साधारण सभा आज पोखरामा सम्पन्न भएको छ ।
कोभिड–१९ महामारीका कारण रोकिएको कास्की जिल्ला क्रिकेट संघको साधारण सभा करिव १० महिना ढिलो गरी सम्पन्न भएको हो । साधारण सभाले सचिव दिपेन्द्र प्रताप चन्दको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष चन्द्र गुरुङ (जिमी)ले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदनलाई पारित गरेको छ ।

साधारण सभाले कार्यसमितीमा रिक्त दुई पद मध्ये एक सदस्यमा अरुण पौडेललाई मनोनित गरेको छ भने अर्को एक रिक्त पद पुर्तिका लागि कार्यसमितीलाईनै जिम्मेवारी दिइएको छ । सभाले पोखरा रंगशालाको क्रिकेट मैदान सञ्चालनको लागि कार्यविधी तय गर्दै मैदान प्रयोग गरेवापत संघमा आवद्ध क्लवलाई ४ हजार, अन्यका लागि ६ हजार र विदेशीका लागि ८ हजार दर तोकेको छ ।

साधारया सभामा प्रस्तुत प्रतिवेदनमा भावी कार्यक्रम अन्तर्गत खेल मैदानको सुधार, क्रिकेट एकेडेमीको सञ्चालन, विद्यालयस्तरिय छात्र–छात्रा क्रिकेट प्रतियोगिता, जिल्ला स्तरिय क्रिकेट प्रतियोगिता, अम्पायर तथा स्कोरर तालिम, नवौको तयारीका लागि वन्द प्रशिक्षण, मनोरञ्जनात्मक क्रिकेट, प्रोत्सहान पुरस्कार, विदेशी टिम सँग मैत्रीपूर्ण क्रिकेट खेल, संघको कार्यालय व्यवस्थापन, सम्मान कार्यक्रमलगायत लाई विशेष जोड दिइएको छ ।
यस अघि साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकूद परिषद (राखेप)का सदस्य राजेश गुरुङले कास्की क्रिकेट खेलका लागि सम्भावना भएको जिल्लाको रुपमा रहेको बताए ।
नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला क्रिकेटको आयोजनाले पनि पोखरा क्रिकेट खेलका लागि सम्भावना जिल्लाका रुपमा रहेको बताउँदै राखेप सदस्य गुरुङले सागमा रोकिएको सबै रकम राखेपले उपलव्ध गराउने प्रतिवद्धता समेत जनाए । उनले पोखरा रंगशालाको क्रिकेट खेल मैदान चर्चित खेल मैदानको रुपमा रहेकोले यसको विकासका लागि समेत राखेप योजनावद्ध रुपमा अघि बढ्ने बताए ।
यसै गरी पश्चिमाञ्चल क्षेत्रिय खेलकूद विकास समितीका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले पोखरामा हुने नवौं राष्ट्रिय खेलकूदको तयारीका लागि समेत मैदानको मर्मतको कार्य अपरिहार्य रहेको बताउँदै यस वर्ष विनियोजित रकम २५ लाखले चाँडैनै कामको शुरुवात गर्ने बताए ।
कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का केन्द्रिय सदस्य ऋषीराम गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुले शुभकामना व्यक्त गरेका थिए ।

