
पोखरा स्पोर्ट्स । नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित ट्रफी, पदकले पुरस्कृत भए ।
म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुुरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको रेकर्ड ब्रेक गर्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा नगद रु एक लाख र पदकबाट पुरस्कृत भए ।
तेस्रो स्थाना आउन सफल नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दा पचास हजार नगद र पदकबाट पुरस्कृत भएका हुन् । यसमा त्रिभुवन आर्मीका विनोद रोकाय(२ः२०.३३)ले चौथो, एपीएफका राजन चौधरी(२ः३१.०६)ले पाँचौं, सेनाका धनु मानन्धर(२ः३२.५०)ले छैटौं स्थान हासिल गरे ।
त्यसैगरी यमराज खत्रीले २ः५०.५५ घण्टा, सोम रावतले २ः५७.४८ घण्टा, दिनेशजंग शाहीले २ः५८.१९ घण्टा, रेशम छन्त्यालले ३ः०१.२० घण्टा, निर्मल लम्सालले ३ः२६.१३ घण्टा, अनिल थारु ३ः३१ः००, अनिपाल रावत ३ः३३ः२४, रोशनसिंह बिष्ट ३ः४१ः२१, अर्जुन खत्रीले ४ः००.३९, ज्ञानेन्द्रकुमार जैशीले ४ः०३.२०, कृष्णकुमार महर्जनले ४ः३८.५५ घण्टामा दुरी पुरा गर्दै शीर्ष अठारभित्र स्थान सुरक्षित गरे ।
हाफ म्याराथन महिला २१ किमीतर्फ सेनाकी पुर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट, २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरी प्रथम स्थान हासिल गर्दा नेपाल एपीएफ क्लबकी फुलमती रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे । उनीहरु क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद, पदकले पुरस्कत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो। यसअघि उनले पाँचौं संस्करणमा उपाधि जितेकी थिइन् ।
१० किलोमिटर रोड रेसमा पुरुषतर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिर(३१ः४२ः३१), नेपाल एपीएफ क्लबका रुपेश कार्कीले (३१ः४९.०५) र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका (३१ः५७.४२) र महिलातर्फ कल्पना बुढा(३७ः१८.०७), दीपा परियार(३८ः१०.८९), सुनदेवा बुढा(३८ः४३.३१),सुमित्राकुमारी चौधरी(३८ः५०.२२), देवकी कुमारी(४०ः४३.८२), अर्जेन्टिनाकी एलियना जर्केलिस(४०ः५५.२८)को समय निकाल्दै शीर्ष स्थान हासिल गरे ।
कर्पोरेट रनतर्फ डा. रामकृष्ण लामिछाने, डा. विश्वनाथ शर्मा, प्रहरी निरीक्षक पदम थारु, नारायणप्रसाद बस्याल, नवीन शर्मा पौड्यालले शीर्ष पाँच स्थान हासिल गरे ।
एन्जल्स स्कुललाई नेपालगन्ज ट्रफी
नेपालगन्ज म्याराथन आयोजक कमिटीले यसबर्षदेखि विद्यालयस्तरमा दौडको लोकप्रियता बढाउन स्थापना गरेको ‘नेपालगन्ज ट्रफी’ यसबर्ष एन्जल्स स्कुलले हात पारेको छ । सर्वाधिक दर्ता गराउने विद्यालयलाई यो ट्रफीबाट सम्मानित गर्ने आयोजक कमिटीको पुर्वनिर्धारित निर्णयअनुसार एन्जल्स स्कुल छनोटमा परेको हो । कार्यक्रमका प्रमुख आकर्षण महानायक राजेश हमालले स्कुलकी निर्देशक विवेचना मल्ललाई ट्रफी हस्तान्तरण गरे । एन्जल्स स्कुलबाट एक सय दश जनाले भाग लिएका थिए ।
बाँके जिल्लास्तरीय स्कुल दौडमा छात्रातर्फ दीपशीखा शाही, ज्ञानदेवी महतारा र अप्सरा बम तथा छात्रतर्फ अरविन्दकुमार यादव, अरमन अहमद दर्जी र किरण रोकायले शीर्ष तीन स्थान हासिल गरे ।
किड्स रनतर्फ ब्राइटल्याण्ड स्कुलका नमांसु थापामगर, सगरमाथा ज्ञानकुन्जका सुजन शाही र ब्राइटल्याण्डकै निकेस फडाराले क्रमशः शीर्ष तीनको स्थान हासिल गरे । ह्वीलचेयर दौडमा पारसराम बढई, राजेश हरिजन, मनकुमारी परियारले शीर्ष तीन स्थान हासिल गरे ।
