
केशब पाठक,
पोखरा, १७ असार । नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको बजाज पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट खेलाडी २०७५ बापत पाएको बजाज पल्सर मोटर बाइक यूकेशले आफ्ना बाबा भूपाल सिं गुरुङलाई समर्पित गरेका छन ।
आफू संगै प्रतिष्पर्धामा रहेका पाँच जना उत्कृष्ट खेलाडीहरु पारस खडका, सोमपाल कामी, शुक्र बहादुर राई र इन्द्र बहादुर श्रेष्ठलाई उछिन्दै यूकेशले वर्ष उत्कृष्ट खेलाडी अवार्ड हात पार्न सफल भएका थिए ।

अवार्ड हात पारे संगै प्राप्त गरेको बजाज पल्सर बाइक यूकेशले आफ्ना बाबालाई जन्म दिनको उपहार भन्दै समर्पित गरे । यूकेशका बुवा भूपालको जन्म दिन आजैका दिन परेको थियो । उनले स्पोर्ट्स अर्वाड हात पारे पछि भने–‘म निकै खुसी छु, म यो बाइक बाबालाई समर्पित गर्न चाहन्छु मेरो प्रशिक्षक र सबै साथीहरुलाई धन्यबाद दिन चाहन्छु ।’
यूकेशलाई छोरा भन्दा पनि साथीको ब्यबहार गर्ने भूपालले १८ औं एशियाली खेलमा उनी छनौटमा पर्दा १२ लाख रुपैयाँ ऋण लिएर एशियाडमा पठाएका थिए । आफ्नो बुबा संग ११/१२ वर्षको उमेर बाट प्याराग्लाइडिङ सिकेका यूकेशले १८ औं एशियाली खेलकुदमा क्रस कन्ट्री तर्फ उत्कृष्ट पदर्शन गर्दै नेपाललाई महत्वपूर्ण रजत पदक दिलाएका थिए । त्यो पदक नै १८ औं एशियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक पदक बन्न पुग्यो ।

कास्की मादी गाउँपालिका वडा नं २, ताङतिङ घर भएका १७ वर्षका यूकेश एशियाली खेलकुदमा सहभागी हुन जाँदा भर्खरै एसइई परिक्षामा पास भएर ११ कक्षा पढ्दै थिए । अब आफुनो आगामी योजना १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने रहेको यूकेशले बताए ।
तस्बिरः सुदर्शन रंजित
