
पोखरा स्पोर्ट्स / पहिलो पटक आयोजना भएको दृष्टिविहिन महिला टि२० विश्वकपमा नेपालले आज अस्ट्रेलियाको सामना गरिरहेको छ ।
विश्वकपमा आफ्नो तेस्रो खेल अस्ट्रेलिया विरुद्ध खेलेको नेपालले १३७ रनको लक्ष्य पाएको छ । भारतको बैंगलोरमा जारी खेलमा टस जितेर अस्ट्रेलियाले पारीको सुरूवात गरेको थियो ।
अस्ट्रेलियाले ६ विकेटको क्षतीमा १३६ रन बनाएको छ । अस्ट्रेलियाकी कोर्टनी लिविसले ३१ रन, जेनीफर पेरीले ३० र अमेला हर्टले २१ रनको योगदान दिइन् ।
नेपालले पहिलो विकेट कोर्टनीको रुपमा पाएको थियो । विनिता सोमाईको बलमा सुनिताले क्याच आउट गरेकी थिइन् । अन्य पाँच खेलाडी भने रन आउट भएका थिए ।
आजको खेलमा भने विनिता पुन ड्रेसिङरुममा बस्नु परेको छ । उनी भारत विरुद्धको खेलमा घाइते भएकी थिइन् ।
