
पोखरा स्पोर्ट्स / पोखरामा पहिलो पटक आयोजना भएको पोखरा १०के रेसमा मिङमार सिङ्गी तामाङ र नारायणी भण्डारी बिजेता बनेका छन् । कास्की जिल्ला एथलेटिक्स संघको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ मिङमार र महिलातर्फ नारायणी बिजेता बनेका हुन् ।
पोखरा १०के रेस, पोखरा महानगरका मेयर धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, नेपाल एथलेटिक्सका सदस्य शिवराज आचार्य, पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक गोदारका भनाईहरु भिडियोमा । सुन्नुहोस, लाइक, कमेन्ट, शेयर र सव्सक्राइब गर्नुहोस ।

पोखरा १०के रेस दौड पुरा गर्न मिङमारले ३१ मिनेटको समय लिए भने पुरुषतर्फ दिल बहादुर बुढाले ३१ मिनेट ३९ सेकेण्डमा दौड पुरा गरी दोस्रो, ३३ मिनेट ०८ सेकेण्डमा दौड पुरा गरेका बादल कार्की तेस्रो हुदा ३३ मिनेट १२ सेकेण्डमा दौड पुरा गरेका गौतम श्रेष्ठ चौथो र ३३ मिनेट २४ सेकेण्डमा दौड पुरा गर्दै कमल नेपालीले पाँचौ स्थान हात पारेका छन् ।
यस्तै १०के महिलातर्फ बिजेता बनेकी नारायणीले ४१ मिनेट २३.८ सेकेण्डमा दौड पुरा गरेकी थिइन् । यसै गरी झुनमाया थापाले ४२.०६ सेकेण्डमा दौड पुरा गरी दोस्रो हुँदा, तेस्रो स्थान प्राप्त गरेकी दौपर्दी कठायतले ४४ मिनेट ५३ं.१४ सेकेण्डमा दौड पुरा गरिन् । त्यस्तै यमुना घर्ती मगरले ४५ मिनेट ४६.४८ सेकेण्डमा दौड पुरा गरी चौथो र ४९ मिनेट ०३. ०८ सेकेण्डमा दौड पुरा गरी सानी चौधरी पाँचौ स्थान हासिल गरिन् ।
यसै गरी ५ किलोमिटर छात्र दौडतर्फ १८ मिनेट ५५ सेकेण्डमा दौड पुरा गरी पहिलो हुदा रमेश कुमार माझी दोस्रो, तेन्जेन रोक्का तेस्रो, रोहन कुमार माझी चौथो र सृजन नेपालीले पाँचौ स्थान हात पारे । त्यसै गरी छात्रा ५ किमि दौडमा २२ मिनेट २३ सेकेण्डको समय लिंदै पुष्पा भण्डारीले पहिलो स्थान हात पारिन् भने मेघराज मावीकी एन्जिला जिटीले २५ मिनेट ३४ सेकेण्डमा दौड पुरा गरी दोस्रो हुँदा, २५.५६ मिनेटको समयमा दौड पुरा गरी साधना परियार तेस्रो भइन् । सोही दौडमा एन्जल अधिकारी चौथो र अनुषा बुढाले पाँचौ स्थान हात पारिन् ।
विद्यालयस्तरीय छात्र÷छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौ स्थान सम्मका विजेता खेलाडीले जनही समान नगद रु १०, ७, ५, ३ र २ हजारका साथमा मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्राप्त गरे ।
पोखरा १०के रेस बिजेता पहिलो देखि पाँचौ स्थान सम्म प्राप्त गर्ने महिला तथा पुरुष खेलाडीहरुले समान नगद रु २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल, प्रमाणपत्र एवं गिफ्ट ह्याम्पर प्राप्त गरे । यसका साथै आयोजकले २५औं स्थान सम्म प्राप्त गर्ने सबैलाई गिफ्ट ह्याम्पर प्रदान गरेको थियो ।
बिजेता खेलाडीहरुलाई पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य, प्रदेश खेलकुद परिषदका निवर्तमान सदस्य सचिब तेज बहादुर गुरूङ, पश्चिम पृतना हे.क्वाका पृतनापति मधुकर सिंह कार्की, नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणीराज लामिछाने, नेपाल एथलेटिक्स संघका केन्द्रिय सदस्य शिवराज आचार्य, एक्सट्रिम एनर्जी ड्रिङ्कका प्रतिनिधि सुवोध नरसिंह राणा, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार लगायतले नगद, मेडल, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।
यस अघि प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख आचार्यले पोखरालाई खेलकुद पर्यटनको हव बनाउन यस प्रकारका प्रतियोगिताहरु महत्वपूर्ण रहेको जनाउँदै आगामी वर्षहरुबाट महानगरको सहयोग रहने प्रतिवद्धता जनाए ।
कार्यक्रम कास्की जिल्ला एथलेटिक्स संघका अध्यक्ष गज बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रतियोगिता सबै इभेन्टतर्फ १ हजार ४५० जनाले सहभागिता जनाएका थिए ।
सो प्रतियोगितालाई एग्रो थाई फुड्सको उत्पादन एक्सट्रिम एनर्जी ड्रिङ्क टाइटल स्पोन्सर रहेको प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, पोखरा महानगर पालिका र सोल्टी पिउने पानीले सहकार्य गरेको जिल्ला एथलेटिक्स संघका सचिब सिद्धान्त अधिकारीले जानकारी दिए ।
