प्रदेश खेलकुद द्वारा खेलाडीहरुलाई निशुल्क शिक्षा र स्वास्थ्य प्रदान गर्न पत्रचार

पोखरा स्पोर्ट्स । प्रदेश खेलकुद गण्डकीले खेलाडीहरुलाई निुशल्क शिक्षा र स्वास्थ्य प्रदान गर्न प्रदेशका सबै पालिका तथा मन्त्रालयमार्फत पत्रचार गरेको छ ।

परिषदले प्रदेश भित्र बसोबास गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी/प्रशिक्षक/रेफ्रि तथा जजहरु सबैलाई निशुल्क शिक्षा र स्वास्थ्य निशुल्क गर्न पत्रचार गरेको सदस्य सचिब श्रीधर शर्माले जनाएका छन् । “पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वर्तमान तथा पूर्व खेलाडीहरुलाई निशुल्क स्वास्थ्य सेवाका लागि परिषदले सबै ८५ पालिकाहरुलाई पत्रचार गरेको छौं,” उनले भने, “यसका साथै पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीका छोरा/छोरीहरुलाई समेत निशुल्क शिक्षाका लागि हामीले भनेका छौं ।”

परिषदले यो विषयलाई अभियानको रुपमा अघि बढाएको बताउँदै सदस्य सचिब शर्माले खेलाडीहरुको हौसलाका लागि यो अभियानमा राज्यका हरेक अङ्गहरु परिषदसंग एकाकार गर्दै अघि बढेमा यसले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । उनले भने–“हामीले सानो सानो विषयले पनि युवा खेलाडीहरुलाई सहज वाताबरणमा खेल्न र प्रशिक्षणमा सघाउन सक्छौं । पालिकाहरुका लागि यो ठूलो विषय पनि होइन । अर्का तर्फ निजि र प्रदेश तथा अन्य सरकारी अस्पतालमा खेलाडीहरुलाई निशुल्क सेवा पाउनु अधिकारको विषय पनि हो ।”

परिषद्ले कार्तिक २६ गते पत्रमार्फत गण्डकी प्रदेशका ११ वटै जिल्लाभित्र रहेका ८५ वटा स्थानीय तहहरूलाई अनुरोध गर्दै खेल क्षेत्रमा योगदान पुर्‍याएका वर्तमान तथा पूर्व खेलाडी, प्रशिक्षक, निर्णायक तथा रेफ्री एवम गण्डकी प्रदेश सरकारबाट पदक प्राप्त व्यक्तिहरूलाई अध्ययन र स्वास्थ्य उपचारमा विशेष सुविधा दिन आग्रह गरेको हो । 

यसका साथै, जिल्ला र प्रादेशिक अस्पताल तथा स्वास्थ्य मन्त्रालयबाट स्विकृत र अनुमती पाएका ठूला निजी अस्पतालहरुमा स्थास्थ्य सेवा निशुल्क गर्न मन्त्रालयलाई समेत परिषदले पत्रचार गरेको छ । 

खेलाडी तथा उनीहरुका छोराछोरीलाई पालिका क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरू र त्यहाँका क्याम्पसहरूमा अध्ययनका लागि निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह गरिएको छ । साथै, पालिका भित्रका सरकारी तथा निजी अस्पतालहरूमा उपचारका क्रममा इमर्जेन्सी र सामान्य प्रकृतिका स्वास्थ्य सेवामा निःशुल्क वा सहुलियत दरमा सुविधा प्रदान गर्न अनुरोध गरिएको छ ।

खेलाडीहरूले देश र प्रदेशको गौरव बढाएका कारण उनीहरूलाई सम्मान स्वरूप शिक्षा र स्वास्थ्यमा सहजता पुर्‍याउने उद्देश्य रहेको बताउँदै सदस्य सचिब शर्माले सो पत्रको बोधार्थ सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय, र सबै जिल्ला खेलकुद विकास समितिहरूलाई समेत पठाएको छ । जिल्ला समितिहरूले आफ्ना जिल्लास्थित पालिकाहरूसँग समन्वय गरी सो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ ।

खेलकुदको माध्यमबाट जिल्ला, प्रदेश, राष्ट्रको नाम पहिचान गर्न योगदान दिने खेलाडीहरूलाई सबैले हौसला र प्रोत्साहन गर्न सबैको साथ र सहयोग पाउनेमा परिषद विश्वस्त रहेको सदस्य सचिब शर्माले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close