
पोखरा, २३ साउन । राष्ट्रको लागि भारोत्तोलन खेल मार्फत सर्वाधिक पदक जित्न सफल ओलम्पियन सुनिललाल जोशीको स्मृतीमा हुने ‘तेश्रो नेपाल स्ट्रङ्गेष्ट २०१९ भारोत्तोलन प्रतियोगिता’को सम्पूर्ण तयारी पुरा भएको बिहिबार पत्रकार सम्मेलन मार्फत आयोजक संस्थाले जानकारी गराएको छ ।
काठमाण्डौ जिल्ला भारोत्तोलन संघको आयोजनामा हुने प्रतियोगितामा सिनियर महिला तथा पुरुष तथा जुनियर महिला तथा पुरष गरि ४० तौल समूहमा ४० स्वर्ण पदकका लागि खेलाडी भिडने छन् ।
स्व. सुनिललालको जन्म स्थान मरु टोलस्थित मरु बैङ्गक्वेटमा हुने प्रतियोतिामा पुरुष र महिला तर्फका स्ट्रङ्गेष्ट खेलाडीकरुलाई तेश्रो नेपाल स्ट्रङ्गेष्ट ब्यानेटका साथै नगद ११ हजार, ट्रफी र प्रमाण पत्र प्रदान गरिने छ । यस्तै वेष्ट लिफ्टरलाई ट्रफी प्रमाण पत्र तथा नयाँ राष्ट्रिय किर्तिमान बनाउने खेलाडीहरुलाई आर्थिक अभावका कारण विगतमा झै १ हजार नगद प्रदान गरिने आयोजकले जनाएका छन् ।
करिव १२ लाख ७९ हजार २ सयको लागत रहेको प्रतियोगितामा तीन विभागिय टोली र जिल्ला तथा क्लबका करिव ९० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आईडब्लुएफ र एडब्लुएफको नियमानुसार खेलाईने आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि स्व. सुनिललाल जोशीको श्रद्धान्जलीका समयमा संघका पदाधिकारी लगायत धेरैबाट आर्थिक सहयोग गर्ने बचनबद्धता प्राप्त भएता पनि तेश्रो संस्करण सम्म आई पुग्दा सम्म कतैबाट पनि बचन पुरा नभएका कारण प्रतियोगिता संचालन गर्न कठिनाई भएको प्रतियोगिता संयोजक तथा जिल्ला संघका उपाध्यक्ष रुकेश तण्डुकारले जानकारी गराए । तण्डुकारले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवलाई प्रतियोगिता रातोकितावमा नै पार्न आग्रह गरेको बताए ।
