
पोखरा स्पोर्टस/तस्विरः सुदर्शन रञ्जित । प्रथम केपी ओली कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको दोश्रो खेलमा गण्डकीले एपिएफ विरुद्ध रोमाञ्चक जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको उक्त प्रतियोगितामा गण्डकी विभागिय टोली शसस्त्र प्रहरीबलको एपिएफ क्लवलाई ४ विकेटले जितेको हो । गण्डकीले अन्तिम २ बल बाँकी हुँदै १०२ रनको लक्ष्य भेट्टाएको थियो । गण्डकीले १९.४ ओभरमा ६ विकेट गुमाउँदै १०४ रन बनायो ।
टस हारेर व्याटिङको निम्तो पाएको एपिएफले १८.४ ओभरमा सबै विकेट गुमाउँदै १०१ रन बनाएको थियो । गण्डकीका बलरहरुले आफ्नो होम ग्राउण्डमा उत्कृष्ट बलिङको नमुना पेश गर्दै एपिएफलाई दवावमा राखेका थिए । एपिएफका कप्तान प्रदिप ऐरीले २३ बलमा २० रन जोडे । उनले आफ्नो पारीमा २ चौका १ छक्का प्रहार गरे । उनी कमल परियारको बलमा एलविडव्लु धरापमा परे । एलविडव्लु डिसिजनमा आउट भएका अर्का ओपनर आशिफ शेखले १२ रन जोडे । उनलाई विपिन खत्रीले आउट गरे । भुवन कार्की र सुमित महर्जनले एपिएफका लागि १४–१४ रन बनाउँदा लोकेश वमले १२ रन जोडे ।
गण्डकीका लागि म्यान अफ दि म्याच समेत रहेका अमृत गुरुङ, विपिन खत्री, चन्द्र पौडेल, र कमल परियारले समान २–२ विकेट हात पार्दा दिनेश वुढामगर र सुदिप अर्यालले १–१ विकेट लिए ।
अन्तिम ओभरको खेल चलिरहँदा लागतार दुई विकेट गुमाउँदै लरखराएको गण्डकीलाई अमृत गुरुङले छक्का प्रहार गर्दै जित दर्ता गराएका थिए । जवाफी व्याटिङका लागि उत्रिएको गण्डकीले स्कोर वोर्डमा २६ रन जोड्दा पहिलो विकेट गुमाउन पुग्यो । ओपनर किरण पौडेल ७ रनमा अमर रौतेलको बलमा पेभिलिएन फर्किदा अर्का ओपनर गौरव विकले ११ रनको व्यक्तिगत स्कोरमा इरशाद अहमदको बलमा सन्दिप जोराको हातबाट क्याच आउट हुन पुगे ।
त्यस्तै गण्डकीका लागि मुस्कान थापाले सर्वाधिक २६ रन जोडे । उनलाई अभिनाश बोहरा बोल्ड गरे । अभिनाशकै बलमा आउट भएका दिनेश बुढामगरले २४ रन बनाए भने अभिशेक थापा ११ रन बनाउँदै नटआउट रहे ।
पोखरा रंगशालामा शनिबार दुई खेल सञ्चालन हुनेछन् । पहिलो खेल आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ र कर्णाली तथा दोश्रो खेल एपिएफ र लुम्विनीका विच हुने एकेडेमीका क्रिकेट विभाग प्रमुख शक्ति गौचनले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०र२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता १५ गते सम्म सञ्चालन हुनेछ ।
