
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनामा सोमबारदेखि पोखरामा वडा ८ स्तरिय वडाध्यक्ष कप व्याडमिण्टन प्रतियोगिता सुरु भएको छ ।
पोखरा महानगरपालिकाका उप–मेयर मञ्जुदेवी गुरुङ्गले एक समारोहका विच प्रतियोगिताको उद्घाटन गरेकी हुन् । सो अवसरमा उनले महानगरले स्वास्थ्य नागरिक उत्पादनका लागि खेलकुदलाई प्राथमिकतामा राखेको औल्याइन । स्वाथ्य र अनुशासित समाज निर्माणका लागि खेलकुद महत्वपूर्ण हुने उनको भनाई थियो । त्यस्तै, महानगरका प्रवक्ता धनबहादुर नेपालीले आपसमा भाइचारा सम्बन्ध प्रगाढ पार्न खेलकुद माध्यम बन्ने समेत उनले बताइन ।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रतियोगिता संयोजक कृष्णमान ठूसाजु, युनिक व्याडमिण्टन क्लवका अध्यक्ष युक्तबहादुर गुरुङ्ग, वडा सचिव सविता ढुङ्गाना लगायतले प्रतियोगिताका बारेमा आफ्ना भनाई राखेका थिए ।
सृजनाचोकस्थित बराल समाज घरभित्रको व्याडमिण्टन कोर्टमा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा वडाध्यक्ष रुद्रनाथ बराल र श्रीराम घिमिरेको जोडीले सरोज श्रेष्ठ र लेखनाथ न्यौपानेको जोडीमाथि जित हाँसिल गर्दै विजयी शुरुवात गरेको थियो ।
प्रतियोगितामा ओपनतर्फ नविन गुरुङ्ग र पिटर गुरुङ्गको जोडीले जगन घले र देवेन्द्र गुरुङ्गको जोडीलाई तथा सुरेस तामाङ्ग र नारायण रानामगरको जोडीले दिपक लामिछाने र रामचन्द्र रामदासको जोडीलाई पराजित गर्र्दै फाइनलमा स्थान बनाएका छन् ।
भेट्रान्सतर्फ सूर्य अधिकारी र काशी शर्माको जोडीले रविन धमला र गोविन्द बरालको जोडीलाई तथा विवेक सुवेदी र फुर्वा छिरिङ्ग गुरुङ्गको जोडीले जितबहादुर कुँवर र जसबहादुर गुरुङ्गको जोडीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरे । मंगलबार विहान प्रतियोगिताको फाइनल खेल हुने आयोजक वडा नं ८ की सदस्य किरण गौतमले जानकारी दिएकी छन् ।
