
पोखरा, थाईल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक र कोरियाकी गा युन पार्क योनेक्स सनराईज नेपाल अन्तराष्ट्रिय च्यालेञ्ज २०१९ को महिला एकलमा उपाधी निकट पुगेका छन् ।
शनिबार दशरथ रङ्गशालाको कभर्डहलमा भएको सेमिफाईनलमा पोर्नतिपले जापानकी रिको गुञ्जीलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधी निकट पुगेकी हुन् । अब पोर्नतिपले उपाधीका लागि कोरियाकी गा युन पार्कसंग प्रतिस्पर्धा गर्नेछिन् । गा युनले जापानकी अकारी नाकाशिजुलाई २१–१८, २१–१९ ले पन्छाउँदै फाईनल प्रवेश गरेकीहुन् ।
पुरुष एकलमा भने भियतनामका काव सुओङ्ग फाम भारतका सिरिल बर्मालाई २१–११, २१–१६ ले पराजित गर्दै उपाधी नजिक पुगेका हुन् । फाम प्रतियोगितामा छैटौं स्थानमा र बर्मा ७ औं स्थान प्राप्त खेलाडी हुन् । अर्को खेलमा प्रतियोगितामा आठौं स्थानका अदुलराच नामकुल पाँचौ स्थानका क्यानडाका झिआउदोङ्ग सेङ्गलाई २१–१४, २१–१९ ले पन्छाउँदै फाईनलमा फामसंगको भिडन्त पक्का गरेका हुने ।
महिला युगल तर्फ अष्ट्रेलियाका सेताना मापासा र ग्रोन्या सोमरभिल्ले तथा भारतका मनिषा के. र रुतापर्ना पान्डाको जोडी उपाधीका लागि भिड्ने भएका छन् । प्रतियोगितामा पहिलो स्थान पाएका सेताना र ग्रोन्याको जोडीले थाईल्याण्डका रुईथाईचानोक लैसुवान र सुपामार्त मिङ्गचुवाको जोडीलाई १८–२१, २१–१६, २१–१३ ले तथा चौथो स्थानका मनिषा र रुतापर्नाको जोडीले थाईल्याण्डकै चासिनी कोरेपाप र क्वान्छानोक सुजाईप्प्रापरतको जोडीलाई १७–२१, २३–२१, २१–१७ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।
पुरुष युगल तर्फ भने भारतका खेलाडीहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो सेमिफाईनलमा भारतका अत्री मनु र रेड्डी बि. सुमिथ को जोडीले कोरियाका किम दोक्योङ्ग र किम सा राङ्गलाई १८–२१, २१–१९, २१–१९ ले तथा भारतकै एम. आर. अर्जून र ध्रुव कपिलाको जोडीले कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग चानको जोडीलाई २१–१६, २१–१६ को समान अन्तरले पराजित गर्दै फाईनल यात्र तय गरेका हुन् ।
मिक्स युगल तर्फ थाईल्याण्डका सुर्पाक जोमखो र सुपिसारा पाउसाम्प्रानको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र किम मिन जीको जोडीलाई २५–२३, २१–१०ले पराजित गर्दै फाईनल प्रवेश गरे । यस्तै फाईनल प्रवेश गर्ने अर्को जोडीमा कोरियाका किम सा राङ्ग र किम हा नाको जोडी रहे । राङ्ग र नाको जोडीले भारतका रेड्डी बि. सुमिथ र कुहो गार्गको जोडीलाई १५–२१, २२–२०, २१–१७ ले पराजित गरे ।
प्रतियोगिताको फाईनल खेल आईतबार १ः०० बजे बाट सुरु हुने र प्रत्येक खेलको अन्य पश्चात पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको आयोजक नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए ।
