‘पोखरा १० के’ रेस कार्तिक २९ गते हुदै

पोखरा स्पोर्ट्स । पछिल्लो समय पोखरा दौडको शहरको रूपमा परिचित हुदै गएको छ । यसै क्रममा कास्की जिल्ला एथलेटिक्स संघले यहि कार्तिक २९ गते ‘पोखरा १० के’ दौड कार्यक्रम अघि सारेको छ ।

हालै मात्रै ट्रयाक एण्ड फिल्डका कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको कास्की एथलेटिक्स संघले एथलेटिक्स खेलको विकास र प्रवर्द्धन गर्न यो कार्यक्रम अघि सारेको कास्की एथलेटिक्सका अध्यक्ष गज बहादुर गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिए । उनले भने–“हामी पदको लागि भन्दा पनि एथलेटिक्स खेलको विकासका लागि आएका हौं । ‘मदर अफ दि स्पोर्ट्स’ एथलेटिक्सलाई जिवन्त बनाउन र खेलाडी उत्पादनमा समेत टेवा पुर्याउन यो प्रतियोगिताले भूमिका खेल्नेछ ।”

‘१० के’ रेस अन्तर्गत १० किमि दौड महिला/पुरूष तथा ५ किमि छात्र/छात्रा दौड तय गरिएको कास्की एथलेटिक्सका सचिब सिद्धान्त अधिकारीले जानकारी दिए । प्रतियोगितामा देशै भरिका खेलाडीहरु पोखरा ल्याउन र पोखरालाई दौडको शहरको रूपमा स्थापित गर्न समेत् भूमिका रहने बताउँदै उनले भने,“यो प्रतियोगिता सबैका लागि खुला छ । पोखरा घुम्नका लागि मात्रै होइन खेलकुद कार्यक्रममा सहभागिता जनाउन पनि आउन सकिन्छ भन्ने सन्देश हामी प्रतियोगिता मार्फत दिन चाहन्छौं ।”

१० किमि दौड पहिलो हुने देखि लिएर पाँचौ स्थान सम्म प्राप्त गर्ने महिला/पुरूषतर्फ समान नगद रु २०, १५, १०, ७ र ५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने विद्यालय छात्र/छात्रा दौडतर्फ क्रमश पहिलो देखि पाँचौ स्थान सम्मका लागि १०, ७, ५, ३ र २ हजार नगद प्रदान गरिने आयोजकले पोखरा स्पोर्ट्सलाई जानकारी दिएको छ ।

यसका साथै टप २५ जना फिनिसरलाई गिफ्ट ह्याम्परको समेत व्यवस्था आयोजकले गरेको छ । प्रतियोगितालाई प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका र एक्सट्रिम एनर्जी ड्रिङ्कले सहकार्य गरेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close