
पोखरा स्पोर्ट्स । अन्तर्राष्ट्रिय क्योकुशिन कराँतेका प्रशिक्षक तथा खेलाडी अशोक लामा रुम्बालाई पोखरामा स्वागतसहित सम्मान गरिएको छ । क्योकुशिन कान कराँते संघ कास्कीले सोमबार पोखरा रंगशालामा आयोजित विशेष समारोहका बीच रुम्बालाई स्वागत गर्दै सम्मान गरेको हो ।
रोजगारका सिलसिलामा हाल स्पेनमा बस्दै आएका रुम्बाले गत नोभेम्बर २३ र २४ मा स्पेनमा सम्पन्न १०औं NINTAI कप स्पेनिस ओपन क्योकुशिन कराँते च्याम्पियनशिपमा प्रमुख प्रशिक्षकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उक्त योगदानको उच्च कदर गर्दै संघले उनलाई सम्मान गरेको नेपाल फुल कन्ट्याक कराँते महासंघ गण्डकीका अध्यक्ष तथा क्योकुशिन कान कराँते नेपालका शाखा प्रमुख लक्ष्मण कुवँरले जानकारी दिए ।
कुवँरका अनुसार रुम्बा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक र रेफ्रीको भूमिकामा सक्रिय रहँदै नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउँदै आएका छन् । यही योगदानलाई प्रेरणाको स्रोतका रूपमा लिँदै सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका पूर्व अध्यक्ष दीपक गोदारले विदेशमा रहेर पनि खेलकुदमार्फत देशको प्रतिष्ठा उचो पारेको भन्दै रुम्बाको योगदान प्रशंसनीय भएको उल्लेख गरे ।
सो अवसरमा अन्तर्राष्ट्रिय प्रशिक्षक रुम्बाले देश र माटोप्रतिको माया जहाँ भए पनि अविचल रहने बताए । उनले भने, “देशको अवस्थाले विदेशिए पनि मन भने सदैव नेपालकै लागि धड्किन्छ ।” साथै उनले आगामी दिनमा नेपाली खेलाडीलाई स्पेनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रुम्बाका अनुसार अनुशासन, विकास, गतिशीलता र निरन्तरताको प्रयासले खेलकुद क्षेत्रमा लाग्ने व्यक्ति सफलताको शिखरमा पुग्न सक्छन् ।
रुम्बा नेपाली समाज स्पेनका अध्यक्ष, वैदाम तामाङ सेवा समाजका आजीवन सदस्य तथा लायन्स क्लब अफ पोखरा लेकसाइडका आजीवन सदस्य हुन् । उनी विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएका छन् ।
कार्यक्रममा पूर्व बक्सिङ खेलाडी क्याप्टेन सम्मरबहादुर थापा क्षेत्री, स्पेनिस खेलकर्मी चेमा रामोस, संघ लेखनाथका प्रमुख प्रशिक्षक सुवास खड्का, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष दीननाथ बराल तथा प्रशिक्षार्थी खेलाडीहरूको पनि उपस्थिति रहेको थियो ।
