
पोखरा स्पोर्ट्स । दृष्टिविहिन महिला विश्वकप टि–२० क्रिकेट नेपाली राष्ट्रिय टोलीको प्रशिक्षण पोखरामा सुरू भएको छ ।
पहिलो पटक भारत र श्रीलंकाका आयोजना हुने दृष्टिविहिन महिला विश्वकप टि–२० क्रिकेट प्रतियोगिता यहि नोभेम्वर १२ (कार्तिक २६) तारिखबाट सुरू हुँदैछ । काठमाण्डौमा १० दिनको प्रशिक्षण पश्चात टोली मैदान अभावका कारण पोखरा आएको दृष्टिविहिन क्रिकेट संघ (क्याव) नेपालका महासचिब अमृत बरालले पोखरा स्पोर्ट्सलाई जानकारी दिए ।
टोलीले यहि कार्तिक २४ गते सम्म पोखरामा प्रशिक्षण गर्नेछ भने कार्तिक २५ गते भारत प्रस्थान गर्ने तय भएको महासचिब बरालले बताए ।
दृष्टिविहिन महिला विश्वकपको एक दिवशिय फर्म्याट नेपाली राष्ट्रिय टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको महासचिब बरालले बताउँदै पहिलो पटक आयोजना हुन लागेको टि–२० फर्म्याट समेत सोही लयलाई कायम राख्न सफल हुने गरी तयारी भइरहेको उनले बताए । उनले भने–“हामी निकै चुनौतीका साथ यो विश्वकपमा सहभागिता हुदैछौं । हामी संग आर्थिकको समस्या छ । तर पनि सबैको सहयोग र सहकार्यले समाजमा अपाङ्गता भएका विशेष गरी महिलाहरुलाई मैदान सम्म ल्याउन हाम्रो यो प्रयास सफल हुने विश्वास राखेका छौं ।”
प्रतियोगिताको उद्घाटन खेल भारतको नयाँदिल्ली फाइनल खेल श्रीलंकाको कोलोम्बोमा नोभेम्वर २ (मंसिर ७) गते हुनेछ । नेपालसहित भारत, श्रीलंका, पाकिस्तान, अस्ट्रेलिया, अमेरिका, इङल्याण्डले पहिलो पटक आयोजना हुन लागेको दृष्टिविहिन महिला विश्वकप टि–२० मा सहभागिता जनाउने छन् ।
क्याब–नेपालले पहिलो पटक आयोजना हुन लागेको टि–२० विश्व दृष्टिविहीन महिला क्रिकेट विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिसकेको छ ।
नेपाली टिमको कप्तानी गीता पौडेलले सम्हाल्ने छिन् । टिममा विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका छन् ।
त्यस्तै पुरनसिंह खत्रीलाई प्रमुख प्रशिक्षक, नरेन्द्र निरौलालाई सहायक प्रशिक्षक र भगवती भट्टराई बराललाई टिम म्यानेजरका रूपमा रहने भएको क्याब नेपालले जनाएको छ । टोलीको प्रशिक्षणका लागि पाकिस्तानी प्रशिक्षक समेत् पोखरा आउने भएको महासचिब बरालले बताए ।
नेपालले आफ्नो पहिलो खेल कार्तिक २६ गते भारतको राजधानी नयाँदिल्लीमा श्रीलंका विरुद्ध खेल्नेछ भने कार्तिक २८, २९ र ३० गते क्रमश भारत, इङल्याण्ड र अमेरिका संग भिड्नेछ । ति देशबीचको खेल भने भारतको पर्यटकिय गन्तव्य बैंगलोरमा सञ्चालन हुनेछन् ।
त्यस्तै नेपालले पहिलो चरणमा नै श्रीलंकाको कोलोम्बोमा मंसिर २ गते अस्ट्रेलिया र मंसिर ३ गते पाकिस्तान विरुद्ध खेल्ने तालिका रहेको छ ।
