
पोखरा स्पोर्ट्स । क्रिकेट एशोसिएशन अफ द ब्लाइन्ड, नेपाल (क्याब–नेपाल)ले पहिलो पटक आयोजना हुन लागेको टि–२० विश्व दृष्टिविहीन महिला क्रिकेट विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ । उक्त प्रतियोगिता नोभेम्बर १२ देखि २३ तारिखसम्म भारत र श्रीलङ्कामा हुने तय गरिएको छ ।
नेपाललाई प्रारम्भमा सह–आयोजक मुलुकका रूपमा छनोट गरिएको भए पनि देशको राजनीतिक परिस्थितिमा आएको परिवर्तनका कारण प्रतियोगिताको स्थल अन्ततः श्रीलङ्कामा सारिएको हो । यो विश्वकपको आयोजना क्रिकेट एशोसिएशन फर द ब्लाइन्ड इन इन्डियाले गर्दैछ ।
क्याब नेपालका अध्यक्ष पवन घिमिरेका अनुसार टिमको कप्तानका रूपमा गीता पौडेललाई जिम्मेवारी दिइएको छ । त्यस्तै पुरनसिंह खत्रीलाई प्रमुख प्रशिक्षक, नरेन्द्र निरौलालाई सहायक प्रशिक्षक र भगवती भट्टराई बराललाई टिम म्यानेजरका रूपमा चयन गरिएको छ । टिमकी म्यानेजर बराल नेपाली राष्ट्रिय टोलीको पूर्व कप्तान समेत हुन् । १७ वर्ष निरन्तर कप्तानी सम्हालेकी उनले यस अघि उनको कप्तानीमा नेपाली टोलीले भारत, पाकिस्तान र इङल्याण्डलाई पराजित गरेको थियो ।
दृष्टिविहीन महिलाको क्रिकेट सन् २००६ मा नेपालबाटै सुरु गरिएको हो । जसले विश्वकै पहिलो दृष्टिविहीन महिला क्रिकेटको ऐतिहासिक यात्रा प्रारम्भ गर्यो । हाल यो अभियान भारत, इङ्ग्ल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान र अमेरिकासहित सात देशमा विस्तार भइसकेको छ ।
घोषित खेलाडीहरूको नामावली यसप्रकार छ
गीता पौडेल (कप्तान), विनिता पुन, विनिता सोमाई, दिल्ली सरा धमला, देवकी थापा मगर, अङ्गिला ढकाल, मनकेशी चौधरी, कान्ती डगौरा, सरिता घिमिरे, सुनीता भुजेल, सुष्मा तामाङ, पुनम चौधरी, लक्ष्मी तामाङ, एसरा माया लुङ्गेली मगर, विमला राई र प्रतिभा राई रहेका छन् ।
क्रिकेट एशोसिएशन अफ द ब्लाइन्ड, नेपालले यस ऐतिहासिक विश्वकपमा सहभागी खेलाडी र टोलीका सबै सदस्यहरूलाई सफल सहभागिता र उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरेको छ ।
