
पोखरा स्पोर्ट्स । सहारा क्लब हङकङका सल्लाहकार तथा समाजसेवी देव गुरुङले सहारा क्लब पोखरा र सहारा एकेडेमीप्रति निरन्तर सहयोग गर्दै आएका छन् । लोकदोहोरी गायकका सर्जक र कानून व्यवसायीसमेत रहेका गुरुङले नेपाल भ्रमणको क्रममा यसपटक पनि सहयोग गरेका छन् ।
बुधबार पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीमा पुगेर उनले पत्नी मीना गुरुङ, छोराबुहारी प्रिन्स र यमुना तथा छोरी पायल गुरुङको तर्फबाट एकेडेमीमा आवासरत बालकहरूका लागि ३० थान जर्सी र खाजाका लागि नगद १५ हजारसहित करिब ५० हजार रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरे । उक्त सहयोग उनले क्लबका नवनिर्वाचित अध्यक्ष केशवबहादुर थापालाई प्रदान गरेका हुन् ।
गुरुङले आहा रारा पोखरा गोल्डकपका लागि बर्सेनि ५१ हजार रुपैयाँ आजीवन सहयोग गर्ने घोषणा पहिले नै गरिसकेका छन् । उनले भने, “नाम नै सहारा भएकाले समाजका लागि केही गर्नुपर्छ भन्ने भावनाले क्लबसँग निरन्तर सहकार्य गर्दै आएको छु ।”
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्यले समाजसेवी गुरुङको योगदानप्रति क्लब परिवार आभारी रहेको बताए । क्लबको १४औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित थापाको नेतृत्वमा बनेको नयाँ कार्यसमितिले गुरुङ दम्पतीलाई एकेडेमीमा स्वागत गरेको थियो ।
सहकोषाध्यक्ष तथा एकेडेमी संयोजक विष्णु गुरुङले गुरुङ दम्पतीलाई फूलगुच्छा अर्पण गर्दै स्वागत गरे भने अध्यक्ष थापाले खादा लगाएर सम्मान गरे । कार्यक्रममा अध्यक्ष थापाले एकेडेमीको हालको अवस्था, उद्देश्य र उपलब्धिबारे जानकारी दिँदै निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन महासचिव गंगाराज पौडेलले गरेका थिए । सो अवसरमा पूर्व अध्यक्षहरू विक्रम थकाली, वीरभद्र आचार्य, हरिराम गुरुङ (सुरज), सचिव ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्ष लीलबहादुर थापा, सदस्य अमरराज भण्डारी, प्रमिला घले, विजय गुरुङ तथा पूर्व सदस्य रविन श्रेष्ठलगायत उपस्थित थिए ।
सहारा क्लब पोखराद्वारा सञ्चालित एकेडेमीमा हाल चौथो ब्याचका ३० जना विपन्न तथा कठिन परिस्थितिका बालकहरू आवासीय रूपमा बसोबास गर्दै छन् । क्लबले उनीहरूलाई निःशुल्क आवास, शिक्षा र फुटबल प्रशिक्षण उपलब्ध गराउँदै आएको छ ।
