एन्फा टेक्निकल सेन्टरको निर्माण कार्य अघि बढाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र

पोखरा स्पोर्टस । कास्की माछापुच्छ्रे भिडाँवारीस्थित एन्फा टेक्निकल सेन्टरको निर्माण अघि बढाउन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पोण्डेलाई ज्ञापन पत्र बुझाइएको छ ।

अखिल नेपाल फुटबल संघ गण्डकीले मंगलबार मुख्यमन्त्री पाण्डेलाई भेट गरी ज्ञापनपत्र बुझाएको हो । सो अवसरमा एन्फाका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पा, एन्फा गण्डकीका अध्यक्ष लोकेन्द्र गुरुङलगायतको टोलीले एन्फा टेक्निकल सेन्टरको बारेमा मुख्यमन्त्री पाण्डेलाई जानकारी गराउँदै एन्फाको वर्तमान नेतृत्वले पूर्वाग्रही ढङ्गले निर्माण कार्य अघि नबढाएको भन्दै यथासिघ्र सो बारे एन्फा संग बुझ्न र निर्माण कार्य अघि बढाउन सहजिकरणको भूमिका खेल्न आग्रह गरेको छ ।

विश्व फुटबलको छाता संस्था फिफाको परियोजना अन्तर्गत करिव ८५ करोडको लागतमा निर्माण हुने भनिएको एन्फाको ड्रिम प्रोजेक्ट एन्फा भित्रको आन्तरिक कलहका कारण रोकिन पुगेको हो । २०७५ सालमा माछापुच्छ्रे गाउँपालिकाले निर्माणका लागि २० वर्षको लिजमा एन्फालाई ३५२ रोपनी जग्गा उपलव्ध गराएको थियो भने ५२ लाख खर्चिएर ३०० मिटर लम्वाईमा नदी तटबन्ध समेत गरेको थियो ।

फिफाले सो परियोजना निर्माणका लागि २० लाख डलर विनियोजन समेत गरिसकेको छ । सो परियोजना निर्माणका लागि एन्फाले इविडिङ समेत गरिसकेको छ । तर २०७९ असार ६ गतेको एन्फा अधिवेशनमा नयाँ नेतृत्व चयन भए लगतै परियोजना निर्माण कार्य समेत ठप्प हुन पुगेको छ ।

मुख्यमन्त्री पाण्डेलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ–“यस्ता महत्वपूर्ण परियोजनाहरु एन्फाको बैठकमा समेत प्राथमिकतामा नर्पनु चिन्ताको विषय रहेको जनाउँदै गण्डकी प्रदेशको मात्रै नभई नेपालकै गहनाको रुपमा निर्माण हुन लागेको परियोजनालाई साकार रुप दिन हामी आग्रह गर्दछौं ।”

मुख्यमन्त्री संगको भेट बारे कुरा गर्दै निवर्तमान अध्यक्ष शेर्पाले आगामी आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले निर्माणका लागि बजेट बिनियोजन गर्न आश्वासन दिएको पोखरा स्पोर्टलाई बताए । उनले भने–“एन्फा टेक्निकल निर्माणको विषय अब रोकिन्न । हामी यसलाई निरन्तर उठाइरहने छौं । गण्डकी प्रदेश सरकारले समेत यसका लागि पहल गर्ने आश्वासन पाएका छौं ।”

स्मरणिय के छ भने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले समेत सो परियोजना बारे चासो राख्दै गत बैशाख २४ गते उक्त स्थालको निरिक्षण भ्रमण गरी स्थानियहरु संग जानकारी लिएका थिए ।
https://pokharasports.com/2023/05/07/41992/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close