
पोखरा स्पोर्ट्स । पोखरा रंगशालामा सुविधा सम्पन्न पार्किङस्थल निर्माण हुने भएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित ५० लाखको लागतमा महानगर पालिकाले पोखरा रंगशालामा पार्किङस्थल निर्माण गर्ने भएको हो । सो पार्किङस्थल पोखरा रंगशाला गेट नं २ नजिक निर्माण गरिने जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरूङले पोखरा स्पोर्ट्सलाई जानकारी दिएका छन् ।
“अहिले पोखरा रंगशालामा प्रवेश गर्ने जो कोहीले पनि छरपस्ट पार्किङ गर्दा समस्या आएको छ । रंगशालामा व्यवस्थित पार्किङस्थल अत्यन्त खाँचो थियो”, अध्यक्ष गुरूङले भने–“पोखरा महानगर पालिकाले हाम्रो आवश्यक्तालाई वजेट समेत विनियोजन गरेर पुरा गरेको छ ।” उनले पोखरा महानगर पालिकाका मेयर धनराज आचार्यलाई यो सुरूवातका लागि आभार समेत व्यक्त गरे ।
यो वर्ष ५० लाख विनियोजन भए पनि सो रकमले भने पार्किङस्थलको निर्माण कार्य भने पुरा नहुने अध्यक्ष गुरूङले बताए । उनले भने–“वजेट विनियोजन भएर सुरूवात भएको छ । तर यो रकम अपुग हुनेछ । महानगरले अर्को वर्ष थप बजेट विनियोजन गर्ने छ भन्ने विश्वास लिएका छौं ।”
पोखरा रंगशाला देशकै ठूलो रंगशाला हो । ४१७ रोपनी क्षेत्रफलमा फैलिएको पोखरा रंगशालामा एकै पटक २० भन्दा बढि खेलहरु आयोजना हुन सक्छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत रहेको पोखरा रंगशालामा प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगर पालिकाले आफूहरूलाई अधिकार दिनु पर्ने भन्दै अडानमा छन् ।
यता राखेपले भने पोखरा रंगशालालाई खेलकुद तालिम केन्द्रको रूपमा विकास गर्ने भन्दै आफ्नो अडानमा छोडेको भने छैन । पोखरा रंगशालामा विनियोजन भएको बजेट समेत राखेप आफैले काठमाण्डौमा उपभोक्ता समिति गठन वा टेन्डरमार्फत निर्माण कार्य गर्दै आएको छ ।
हाल पोखरा रंगशाला व्यवस्थापनको जिम्मा जिल्ला खेलकुद विकास समिति कास्की मार्फत हुदै आएको कार्यालय प्रमुख डिबी नेपालीले जानकारी दिए ।
