प्रदेश खेलकुद गण्डकीद्वारा परम्परागत थारु खेल ‘भोदी’को आयोजना

पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषद गण्डकीले परम्पारगत खेलहरुको संरक्षण अभियानमा थारुहरुको खेल भोदीलाई समेत समेटेको छ ।

परिषदले थारुहरुको बाक्लो उपस्थिती रहेको नवलपुर जिल्लालाई लक्षित गर्दै उक्त खेल आयोजना गरेको हो । परिषदले गत वर्ष देखि प्रदेशमा खेलिने परम्परागत ठेलो खेल र तारा खेल आयोजनालाई निरन्तरता दिए संगै यो वर्षबाट भोदी खेल थपेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् ।

थारुहरुले विशेष पर्वको अबसरमा आयोजना गर्ने उक्त खेल महाभारतकालिन यूगबाट खेलिदैं आएको मान्यता रहि आएको विश्वास गरिन्छ । लठ्टीको प्रयोग गरी खेलिने यो खेल समुहमा खेलिन्छ । यो समुहमा हरेक टिममा १० जना र दुई जना व्यवस्थापक रहेका हुन्छन् । उक्त खेलमा १० वटा साना लौराहरु भूँइमा गाडेर अलिक परबाट अर्को लौरोले प्रहार गर्दै गाडिएको लौरोलाई निकाल्ने गरिन्छ । निश्चित समयमा लौरो गाड्ने र प्रहारगर्ने क्रम १० पटक सम्म वा त्यो भन्दा बढि गरिन्छ । तोकिएको समयमा लौरो निकाल्ने र गाड्नेमा जुन टिमले धेरै पटक गर्छ सोही टिम बिजेता घोषणा गरिन्छ ।

यो खेलको उत्पती महभारतकालमा १२ वर्ष बनबास जिवन विताउन पुगेका पाण्डबहरुलाई यूद्धकला सिकाउन अर्जुनले एक उपाय रच्दै पाण्डबहरुलाई आफ्नो गुमेको साख फिर्ता गर्न लठ्टी चलाउन, ढुङ्गा प्रहार गर्न र धनुषकाण चलाउन भनेका थिए । कालन्तरमा यि यूद्धकलाका विषयहरु खेलको रुपमा अघि बढेको किम्वन्दती छ ।

भूमीपुत्रको रुपमा समेत रहेका थारुहरुको यो खेलले नेपालमा रहेका मौलिक खेलहरु संरक्षण अभियानमा कोशेढुङ्गा थपिएको सदस्य सचिव शर्माले बताए । “हामीले हिमाली जिल्लामा तारा खेल, पहाडी जिल्लामा ठेलो खेल र तराईमा भोदी खेल आयोजना गरेका छौं । परम्परागत खेलहरुको आयोजनाले नेपाली खेलकुदको इतिहासको मर्मलाई समेत समेटेको छ”, उनले भने ।

नवलपुरमा आयोजना भएको उक्त प्रतियोगिताको उद्घाटन प्रदेशका कृषि तथा भूमिसुधार मन्त्री महेन्द्रध्वज जिशीले गरेका थिए ।

समापनका अवसरमा प्रदेशकी सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री शुसिला सिंखडा, मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी नवलपुर पुगेका थिए । उनीहरुले नै विजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण समेत गरे ।

समापन कार्यक्रम राष्ट्रिय थारु संग्रहालयका अध्यक्ष जामुनराम थारुको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close