दक्षिण एसियाली करातेमा पहिलो दिन नेपाललाई १२ स्वर्ण

पोखरा स्पोर्टस । नेपालले सातौं दक्षिण एसियाली कराते च्याम्प्यिनसिपको पहिलो दिन शनिबार १२ स्वर्ण जितेको छ । छिमेकी भारतले भने १५ स्वर्णमाथि कब्जा जमाएको छ । पहिलो दिन २९ स्वर्णको टुंगो लाग्दा श्रीलंका (एनओसी टिम) र बंगलादेशले समान १–१ स्वर्ण हात पारेका हुन्  ।
नेपाल कराते महासंघद्वारा आयोजित प्रतियोगिताको क्याडेट महिला एकल कातामा प्रजिस्मा श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाइन् । प्रजिस्माको स्वर्ण प्रतियोगिताकै पहिलो स्वर्ण पनि हो । प्रजिस्माले फाइनलमा बंगलादेशकी मारिमास्वे नाइलाइ पराजित गरिन् । उक्त स्पर्धाको पुरुषमा नेपालका रेहान जावेदले बंगलादेशका उथेयनलाई हराउदै शीर्ष स्थान हात पारे ।
 
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको यु–२१ पुरुष एकल कातामा भारतका प्रसदा जाग्रुट मन्जोरी पहिलो र श्रीलंकाका एडवार्ड ब्रियोन दोश्रो भए । सो स्पर्धाको महिलामा भारतकी सुरोमती सिन्हाले नेपालकी गीता पौडेललाई पाखा लगाउदै पहिलो बनिन् ।
 
यु–२१ को महिला ६१ केजीमुनि भारतकी प्रशान्त सान्खे भारगवीले नेपालकी उर्साला पहरीलाई पाखा लगाउदै स्वर्ण जितिन् । महिला ६८ केजीमुनि नेपालकी आशिका राईले भारतकी पर्विन साइरालाई निराश पार्दै स्वर्ण चुमिन् । महिला ६८ केजीमाथि भारतकी दीक्षा पहिलो भइन् । दीक्षाले फाइनलमा नेपालकी दिया थापाको चुनौती पन्छाइन् ।
 
क्याडेटको पुरुष ७० केजीमुनि भारतका अर्विन्द कार्तिक रेड्डीले नेपालका नेहाल मण्डलमाथि जित रच्दै पहिलो भए । पुरुष ७० केजीमुनि भारतका प्रतापसिंह वीरले फाइनलमा नेपालका निगम तिम्सिनालाई पाखा लगाउदै शीर्ष स्थानमा रहे । महिला ४२ केजीमुनि श्रीलंकाकी करुणारत्नेले भारतकी रिचालाई पन्छ्याउदै पहिलो भइन् । 
 
महिला ४७ केजीमुनि नेपालकी पोर्सिया चौधरीले बाजी मारिन् । पोर्सियाले फाइनलमा भारतकी मोहन जनाइमाथि जित दर्ता   गरिन् । महिला ५४ केजीमुनि भारतकी रुसा टम्बटले नेपालकी आयुशा प्रधानलाई पराजित गर्दै शीर्ष स्थानमा रहिन् । महिला ६१ केजीमुनि भारतकी पूजा सोनीले नेपालकी एलिना थिङलाई हराउदै स्वर्ण हात पारिन् । महिला ६१ केजीमाथि भारतकी खुशी कुमारी पहिलो भइन् ।
 
क्याडेटको पुरुष ४५ केजीमुनि बंगलादेशका मार्मा पहिलो बने । फाइनलमा नेपालका छत्र थापा ‘मेडिकल डिस्क्वालिफाइ’ भएका थिए । पुरुष ५२ केजीमुनि नेपालका ऋतिक लामाले बंगलादेशका सौकत अली सैद मोहम्मदमाथि जित निकाल्दै शीर्ष स्थान कब्जा गरे । पुरुष ५७ केजीमुनि फाइनलमा नेपालका आकाश सैजुवालले भारतका जियान चौधरी विरुद्ध जित आत्मासात् गर्दै पहिलो भए । पुरुष ६३ केजीमुनि भारतका गगनदीप माथुरले नेपालका साहिल राईलाई पराजित गरी स्वर्ण जिते ।
 
यु–२१ महिला ४० केजीमुनि भारतकी तृप्टि पाल पहिलो भइन् । तृप्टिले फाइनलमा नेपालकी निक्क्षा थापा मगरलाई हराइन् । महिला ४५ केजीमुनि नेपालकी पार्वती गुरुङ च्याम्पियन बनिन् । पार्वतीले फाइनलमा बंगलादेशकी अर्पा सलिहाको चुनौती समाप्त पारिन् । महिला ५० केजीमुनि नेपालकी पुष्पका लामाले स्वर्ण चुमिन् । पुष्पकाले फाइनलमा भारतकी ज्योतिलाई निराश पारिन् । 
 
महिला ५५ केजीमुनि नेपालकी सोनु श्रेष्ठले स्वर्ण जित्दा भारतकी दीपिकाले रजतमा चित्त बुझाइन् । पुरुष ८४ केजीमुनि भारतका सोखर दोस सुमनले नेपालका सुरेश जप्रेललाई पराजित गर्दै स्वर्ण हात पारे । पुरुष ८४ केजीमाथि भारतका हर्ष गुलियाले नेपालका आशिष श्रेष्ठलाई हराउदै पहिलो बने । ७५ केजीमुनि भारतका वइभव वालियाले नेपालका निशान राणालाई पाखा लगाउदै पहिलो भए । ६० केजीमुनि नेपालका दर्जी भण्डारीले श्रीलंकाका आरके मदुरंगालाई पन्छ्याउदै पहिलो भए ।
 
यु–२१ कै पुरुष ५० केजीमुनि नेपालका अञ्जन मगरले श्रीलंकाका मधुसन, ५५ केजीमा नेपालका मार्सल गर्बुजाले पाकिस्तानका उस्मान सफिक तथा ६७ केजीमा भारतका पाला डोडुमले नेपालका अनिल बलरामलाई पराजित गरी स्वर्ण हात पारे ।
 
प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा खेलकुद मन्त्री लिम्बूसहित पूर्व मन्त्री एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, करातेका संस्थापक थानेश्वर राई, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, दक्षिण एसियाली कराते महासंघका अध्यक्ष भरत शर्मा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठलगायतले सातौं दक्षिण एसियाली च्याम्पियनसिपको स्मारिका विमोचन गरेका थिए ।
 
कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्य, करातेको सुरुआत बारेको नाटकलगायतका प्रस्तुती प्रस्तुत गरिएको थियो । निर्णायकको तर्फबाट नेपाल कराते महासंघअन्तर्गत रेफ्री काउन्सिलका संयोजक प्रकाशमोहन धौभडेल तथा खेलाडीको तर्फबाट मोहम्मद शेखु आलमले शपथ ग्रहण गरेका थिए ।
 
प्रतियोगितामा नेपालसहित, भारत, बंगलादेश, श्रीलंका (एनओसी टिम), भुटान र पाकिस्तानबाट  १ सय ३ महिला र १ सय ३४ पुरुष गरी २ सय ३७ खेलाडी सहभागी छन् । आइतबार सम्पन्न हुने प्रतियोगितामा ६२ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close