
पोखरा स्पोर्ट्स । नेपाली खेलाडी सुनमाया बुढाले विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा ऐतिहासिक उपलब्धि हात पारेकी छिन् । स्पेनको क्यान फ्रान्कमा सम्पन्न प्रतियोगिताको ८१ किलोमिटर लङ ट्रेल दौडमा उनले उपविजेताको स्थान हासिल गरेकी हुन् ।
सुनमायाले निर्धारित दूरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पूरा गरिन् । उनी अमेरिकी खेलाडी केटी शिम्टभन्दा २६ मिनेट पछि पर्दै दोस्रो स्थानमा पुगेकी हुन् ।
तेस्रो संस्करणको यस विश्व च्याम्पियनसिपमा नेपालले पहिलो पटक यति ठूलो सफलता हात पारेको हो । विश्व माउन्टेन रनिङ एसोसिएसनको आयोजनामा सम्पन्न प्रतियोगिता यसपटक पहिलो पटक विश्व एथ्लेटिक्स र इन्टरनेशनल एसोसिएसन अफ अल्ट्रा रनर्सको सहकार्यमा सम्पन्न भएको हो ।
प्रतियोगितामा ८० देशका १ हजार ७ सयभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो, जुन अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।
नेपाल एडभेन्चर रनिङ फेडेरेसनमार्फत नेपालका खेलाडीहरू सुनमाया बुढा, सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकाले प्रतिस्पर्धा गरेका थिए । ८२ किलोमिटरको दौडमा सुमन ३२औं र मनकुमार ३६औं स्थानमा रहेका थिए ।
संघका अध्यक्ष एकेन्द्र कुँवरले यो सफलता व्यक्तिगत मात्र नभई नेपाली ट्रेल रनिङको विश्वस्तरीय सम्भावना र पहिचानलाई उजागर गर्ने उपलब्धि भएको प्रतिक्रिया दिएका छन् ।
