टाइगर ग्रुपद्वारा चाडपर्व लक्षित शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

पोखरा स्पोर्ट्स । खेलकुद, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्रमुख सामाजिक अभियानका रूपमा अघि सारेको टाइगर ग्रुप अफ नेपालले बडा दशैंसहित विभिन्न चाडपर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबार पोखरामा एक कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

सो अवसरमा बोल्दै कार्यक्रममा बोल्दै संस्थाका महासचिव तथा गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले समाज रुपान्तरणमा सबैको योगदान अपरिहार्य रहेको बताउँदै एक–अर्काप्रति प्रेम र सद्भाव राख्न सबैलाई आग्रह गरे । उनले खेलकुदको समग्र विकासका लागि सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आन्तरिक दुर्बलता हटाउन आध्यात्मिक अभ्यास र योगतर्फ उन्मुख हुनुपर्ने धारणा राखे ।

त्यस्तै, संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले शुभकामना व्यक्त गर्दै आगामी माघ ९ देखि १७ गतेसम्म हुने छैटौं संस्करणको टाइगर कपको तयारी सुरु भइसकेको जानकारी दिए । उनले विगतका संस्करणलाई सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्दै छैटौं संस्करणमा समेत उत्तिकै साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको जनाए ।

कार्यक्रममा लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष देवेन्द्र शेरचन, नेपाल भलिबल संघका उपाध्यक्ष याम बहादुर गुरुङ, संस्थाका सचिव डिबी नेपालीलगायतले पनि आ–आफ्ना धारणा राखेका थिए ।

सो अवसरमा संस्थाका सदस्य तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको जन्मोत्सव मनाइएको थियो भने संस्थाका उपाध्यक्ष देवेन्द्र केसी र खेल पत्रकार केशव पाठकलगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close