
पोखरा स्पोर्टस । छैटौं पोखरा स्पोर्टस् अवार्ड २०७८’ यहीं असार १८ गते पोखरा सभागृह हलमा हुने निश्चित भएपछि अवार्डको रौनक बढ्न थालेको छ । खेल क्षेत्रमा अगाडि बढेका खेलाडी, प्रशिक्षक, खेलसंघ र खेल पत्रकारलाई अवार्ड प्रदान गरेर खेल क्षेत्रमा थप क्रियाशिल बन्न हौसला प्रदान गर्ने उद्धेश्यले आयोजना हुने कार्यक्रमप्रति खेलप्रेमीको साथ रहने गरेको छ ।
अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट उदियमान खेलाडी विधाको उत्कृष्ट तीन मनोनयनमा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटकी श्रृष्टि जैशी र बक्सिङका शाहिल लिम्बु परेका छन् । उनीहरुमध्ये अवार्ड कसको पोल्टामा पर्छ शनिबारसम्म कुर्नुपर्ने भएको छ । यो अवार्ड विजेताले नगद पैतिस हजार रुँपैयाको साथमा ट्रफी हात पार्नेछन् । मनोनयनमा परेकी सृष्टि जैशीको खेल जिवनका सुरुवाती क्षण यस्तो छ ।
क्रिकेटमा अलराउण्डर प्रदर्शन क्षमता कमै खेलाडीमा हुन्छ । व्याटिङ, बलिङ र फिल्डिङमा जम्ने कमै खेलाडी मध्ये एक हुन् ः महिला क्रिकेट खेलाडी श्रृष्टि जैसी । उमेरले १९ लागेकी श्रृष्टि यू–१९ नेपाली महिला क्रिकेटमा नाम चलेकी खेलाडी हुन् । कक्षा ७ मा पढ्दा होस्टेलमा बस्ने दाइहरुले खेलेको देखेर क्रिकेटमा होमिएकी उनलाई सोही समयमा प्रतिभा देखाउने राम्रो मौका आयो ।
राष्ट्रिय खेलाडी करण केसीले पोखरा नदीपुरमा सञ्चालन गरेको राइजिङ क्रिकेट एकेडेमीमा प्रतियोगिता चलिरहेको समयमा टिम नपुगेपछि उनलाई होस्टेलबाट लगेर खेलाइएको थियो । उक्त प्रतियोगितामा उनले सबैको मन जितिन् । त्यसपछि उनलाई एकेडेमीकै सदस्यहरुले नियमित क्रिकेट अभ्यास गर्न सुझाए । त्यसका लागि कास्कीको अन्नपूर्ण गाउँपालिका ११ घान्द्रुकमा रहेका बाबा मितप्रसाद जैसी र आमा माया जैसीलाई उनीहरुले नै सम्झाइदिए ।
त्यसपछि उनको क्रिकेटको करियर सुरु भयो । नियमित प्रशिक्षणमा जान थालिन् उनको खेल निखारिदै गयो । ट्रेनिङकै दौरानमा उनको टिम धनगढी र महेन्द्रनगरमा पिएम कप खेल्न गइन् । त्यस लगत्तै उनी आठौं राष्ट्रिय प्रतियोगिता खेल्न दाङमा पुगिन् । ती प्रतियोगिताहरुमा उनी सहभागी मात्र भइन् । त्यो समयसम्म उनको खेलमा निखारता आईसकेको थियो । उनी ९ कक्षामा पढ्ने बेलामा देशकै प्रतिनिधित्व गर्दै यू–१९ खेल्न चिन गईन् । चिनमा उनको टिम तेस्रो स्थानमा पुग्यो ।
उनले आफ्नो जीवनमा अहिलेसम्म कै राम्रो एचिभ्मेण्ट त्यही प्रतियोगितालाई ठान्छिन् । त्यो समयमा उनले एकेडेमी पनि परिवर्तन गरिसकेकी थिईन् । करण केसीको एकेडेमी बन्द भएपनि उनी पोखरा क्रिकेट एकेडेमीमा जोडिएकी थिईन् । १० मा पढ्ने समयमा उनी टियू ग्राउण्मा भएको वमन च्याम्पियन लिग खेल्न पुगिन् । त्यस लगत्तै उनी मलेसियामा यू–१९ खेल्न पुगिन् । टिमले भनेजस्तो गर्न नसकेपनि उनले यू–१९ प्रतियोगितामा वमन अफ दी म्याच हुन सफल भएकी थिईन् ।
नवौं राष्ट्रिय खेलकुदका लागि तयारी गरिरहेकी श्रृष्टिको लक्ष्य भनेको अब क्रिकेटमा सिनियर महिला टिमका लागि छनोट हुने रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं पोखरा स्पोर्टस् अवार्डमा उदियमान खेलाडीतर्फ मनोनयनमा परेकोमा आफूलाई निकै खुसी लागेको प्रतिक्रिया दिइन् ।
