
पोखरा स्पोर्ट्स । काभा मेन्स नेसन्स लिग २०२५ मा भएको खेलाडी छनौट प्रक्रियामा गण्डकी प्रदेश भलिबल संघले कडा शब्दमा ध्यानाकर्षण पत्र लेख्दै पुर्नविचार नगरे असहयोग गर्ने चेतावनी दिएको छ ।
संघले बिहिबार काभा पुरुष नेसन्स लिग–२०२५, राष्ट्रिय पुरुष टिम छनौट समितिका संयोजक एवं उपाध्यक्ष भरत बहादुर शाहलाई ध्यानाकषर्ण पत्र लेख्दै छनौटमा पूर्नविचार नगरे असहयोग गर्ने चेतावनी दिएकोे हो । संघका कार्यबाहक अध्यक्ष राजेन्द्र जिशीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ–“छनौट प्रक्रियामा गण्डकी प्रदेशका खेलाडीहरु १८ जना भित्र नर्पनु, नर्पानु साथै सो विषयमा मौखिक जानकारी गराउँदा गराउँदै पनि आफू खुसी निकटका खेलाडी छनौट गरिएकोमा गम्भिर आपत्ती जनाउँदै ध्यानाकषर्ण गराउन चाहन्छौं ।”
पत्रमा भनिएको छ–“छनौट प्रक्रियामा यस प्रदेशका खेलाडीहरु अन्यायमा परेको महशुस गर्दै प्रक्रिया प्रति घोर आपत्ती र असहमती जनाउँदै छनौट प्रक्रिया यथासिघ्र पूर्नविचार गर्न जोडदार माग गर्दछौं । साथै सो प्रक्रिया पूर्नविचार नभएको खण्डमा नेपाल भलिबल संघबाट आयोजना गरिने कुनै पनि प्रतियोगिता तथा कार्यक्रममा हाम्रो कुनै पनि सहभागिता नहुने जानकारी गराउन चाहन्छौं ।”
गण्डकी प्रदेशले नेपाली भलिबलमा उत्कृष्ट पहिचान बनाउँदै थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरेको इतिहास साक्षी रहेको जनाउँदै पत्रमा देशका विभिन्न स्थानमा सञ्चालन भएका राष्ट्रियस्तरका प्रतियोगिताहरुमा गण्डकी प्रदेश भलिबल टिमले सशक्त विभागिय टोलीहरुलाई समेत पराजित गरी उपाधिहरु जित्दै आएकोमा छनौट प्रक्रियामा गण्डकीका खेलाडीहरु नर्पनु न्यायसंगत नभएको जनाएको छ ।
पत्रमा भनिएको छ–“गण्डकी प्रदेशका खेलाडीहरु सहभागीता नभएको भलिबल खेल एवं प्रतियोगिताहरु नै खल्लो रहने र केन्द्रीय संघबाट स्वीकृत भई देशका विभिन्न ठाउँहरुमा सञ्चालन हुने प्रतिष्ठित राष्ट्रियस्तरका प्रतियोगिताहरुमा नेपालकै सशक्त विभागिय टिमहरुलाई पनि पराजित गर्दै उपाधी हासिल गरेको सर्वविदितै छ ।”
पत्रमा भनिएको छ–“नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको छनौट एवं खेलाडीहरुको नामावली विभिन्न सामाजिक सञ्जाल फेसबुक, टिकटक आदिमा देखिएको र यसको बारेमा विभिन्न टिकाटिप्पणीहरु सञ्चार माध्यमहरु मार्फत् जानकारी पाउँदा हामी आश्चर्यचकित छौँ । खेलाडी छनौट प्रक्रियाको बारेमा केन्द्रीय भलिबल संघले यस प्रदेश भलिबल संघ एवं संघ मातहत रहेका कुनै पनि जिल्ला संघहरु साथै यस प्रदेशबाट केन्द्रीय संघमा प्रतिनिधित्व गर्नुहुने सल्लाहकारज्यूहरु, पदाधिकारी एवं सदस्यज्यूहरुलाई समेत कुनै पनि आधिकारिक जानकारी नगराएको, यस संघमा आवद्ध रहेका सबै जिल्ला संघहरु, यस प्रदेशका गहना सम्पूर्ण खेलाडीहरु, भलिबलका सम्पूर्ण आदरणीय शुभचिन्तक एवं समर्थकज्यूहरु सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।”
खेलक्षेत्रलाई अनुशासित र मर्यादित बनाउनु सबैको उत्तिकै दायित्व रहेको उल्लेख गर्दै सामाजिक सञ्जालहरुमा कोही कसैप्रति नकरात्मक टिप्पणी समेत नर्गन भनिएको छ ।
यसै बीच छनौट प्रक्रियाको विषयमा सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी उठे संगै नेपाल भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले आफू छनौट प्रक्रियाबाट बाहिरिएको बताएका छन् । विवादले बढ्दै जाँदा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले समेत छनौट प्रक्रियाको विधिका बारेमा नेपाल भलिबल संघले स्पष्ट पार्नु पर्ने भन्दै सामाजिक सञ्जालमार्फत रोष प्रकट गरेका छन् । तर यो विषयमा नेपाल भलिबल संघले हाल सम्म कुनै आधिकारिक धारणा बाहिर ल्याएको भने छैन ।
नेपाली भलिबलमा पहिलो पटक खेलाडी छनौट विवाद सतहमा आएको हो ।

