
पोखरा स्पोर्ट्स । डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपालमै पहिलो पटक आयोजना गर्न लागिएको सबैभन्दा ठूलो टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल)को परिक्षण सम्पन्न भएको छ ।
देशभर विभिन्न स्थानमा सम्पन्न भएका परिक्षणमार्फत खेलाडीहरु लाई छनोट गर्ने प्रक्रिया सकिएको छ । मङलबार काठमाडौंको महालक्ष्मी स्पोट्र्स हबमा अन्तिम परिक्षण सम्पन्न भएको हो । परिक्षणमा खेलाडीहरुको उल्लेखनिय सहभागिता रह्यो । परिक्षणमा करिब १५०० भन्दा बढी खेलाडीले सहभागिता जनाएका थिए भने तीमध्ये २५० जना खेलाडीहरुलाई अक्सनका लागि छनोट गरिने छ ।
यो प्रतियोगिता टेनिस बल क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता देखाउने महत्वपूर्ण प्लेटफर्म हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सात टिम सहभागी हुनेछ । प्रतियोगितामा कुल २५ खेल खेलिने छ । लिग चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ र शीर्ष ४ टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् । विजेता टिमले २१ लाख रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताका अध्यक्ष ज्ञानु सिंहले यो लिगले उदीयमान प्रतिभाको लागि बलियो र समावेशी प्लेटफर्म निर्माण गरेर ग्रासरुट क्रिकेटलाई विकाश गर्ने बताए। “यो प्रतियोगिताले स्थानीय खेलाडीलाई अवसर र प्रेरणा दिनेछ । साथै, नेपाली क्रिकेटलाई ग्रासरुट स्तरबाट विकास गर्ने उद्देश्य राखिएको छ,” उनले बताए ।
हाल प्रतियोगिता केही समयका लागि स्थगित भएको छ । सुरुवाती योजना अनुसार प्रतियोगिता असोज २१ देखि असोज ३१ गतेसम्म हुने तय गरिएको थियो । तर, भदौ २३ र २४ गतेका जेनजी आन्दोलन तथा हाल देश शोकमा डुबेको परिस्थितिलाई मध्यनजर गर्दै प्रतियोगिता स्थगित गरिएको जानकारी आयोजकले दिएको छ ।
प्रतियोगिताको नयाँ मिति छिट्टै नै सार्वजनिक हुनेछ। यस प्रतियोगिताले नेपालमा क्रिकेट खेलको विकाशमा अझ टेवा पुग्ने उद्देश्य राखेको छ ।
