राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

पोखरा स्पोर्ट्स । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः सुचारु भएको छ ।
 
यो आर्थिक वर्षको प्रशिक्षण भदौ १ गतेदेखि सुरु भइसकेको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् । श्रेष्ठका अनुसार जेनजी आन्दोलनले उत्पन्न परिस्थितिका कारण ५ दिन प्रशिक्षण हुन सकेन ।
 
‘आन्दोलनको दोश्रो दिन भदौ २४ गतेपनि खेलाडीहरु बिहान प्रशिक्षणका लागि आएका थिए । आन्दोलनले गर्दा स्थिति असहज बन्दै गएपछि खेलाडी फर्केका थिए ।’ श्रेष्ठले भने– ‘त्यसपछि भदौ २९ गते (आइतबार) देखि प्रशिक्षण सुचारु भएको हो ।’
 
विशेष प्रशिक्षणमा कराते, तेक्वान्दो (पारासहित), जुडो, बक्सिङ, एथलेटिक्स, महिला कबड्डी, महिला भलिबल, गल्फ र कुस्ती गरी ९ खेलका १ सय १० खेलाडी सहभागी छन् ।  त्यसमा ४४ पुरुष र ६६ महिला छन् । ९ खेलका लागि १८ प्रशिक्षकलाई प्रशिक्षणको जिम्मेवारी दिइएको छ ।
 
जापानको आइची/नागोयामा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित १९ औं एसियाली खेलकुद सम्पन्न भए लगत्तै जापान एसियाडका लागि विशेष प्रशिक्षण सुरु गरिएको   थियो ।
 
कुनैपनि एसियाली खेलकुद सकिए लगत्तै आगामी संस्करणका लागि यति लामो तयारी प्रशिक्षण गरिएको पहिलोपटक हो । विशेष प्रशिक्षण २०८० साल माघ १५ गतेदेखि सुरु भएको थियो । 
 
१९ औं संस्करणको एसियाली खेलकुद २०८० साल असोज ६ देखि २१ गतेसम्म चीनको हाङझावमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close