
पोखरा स्पोर्ट्स । स्व.इन्द्र बहादुर स्मृति व्याडमिन्टनमा पोखरा पव्लिकका अमृत थापा र मैत्रय पाठशालाकी निभा राई च्याम्पियन भएका छन् ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजनामा शनिबार पोखरामा सम्पन्न २१औं स्व.इन्द्र बहादुर गुरूङ व्याडमिन्टन प्रतियोगितामा छात्र सिंगल्सतर्फ अमृत र छात्रातर्फ निभा च्याम्पियन भएका हुन् । कक्षा ९–१० क्याटोगरीअन्तर्गत अमृतले फाइनलमा कन्चनजंघका सक्षम गुरूङलाई २१–१५, १४–२१ र २१–१९ ले पराजित गरेका थिए ।
त्यस्तै छात्रातर्फ निभाले सेन्ट फ्रान्सिसकी कुशुम थापा मगरलाई २१–१, २१–४ ले फाइनलमा पराजित गरिन् ।
त्यसै गरी छात्र कक्षा ६–८ क्याटोगरीमा रेनबोका रियान मल्ल प्रथम मैत्रियका मिजाश उदाश दोस्रो भए भने छात्रातर्फ बालोदयकी सेरेन प्रधानाङ्ग र स्टेप वाई स्टेपकी आकृती थापा मगर क्रमश पहिलो र दोस्रो भएका छन् ।
सिंगल्सतर्फ कक्षा १–५ क्याटोगरीमा ज्योतीकुञ्जका अनुपा जिसी पहिलो र सुरवी मन्टोश्वरीका डेभिड पुन दोस्रो तथा छात्रातर्फ शिसु निकेतनकी सुरूची श्रेष्ठ र सेन्ट मेरिजकी कृस्ती राना मगर दा्स्रो भइन् ।
छात्र सिंगल्स कक्षा ११–१२ अन्तर्गत प्रतिभाका विज्ञान भण्डारीले मदरल्याण्डका दिप रानालाई फाइनलमा १९–२१, २२–२० र २१–१४ ले पराजित गर्दा छात्रातर्फ मदरल्याण्डकी दिलाशा रानाले ग्लोबल कलेजियटकी रक्षा फगामीलाई २१–११ र २१–१८ ले फाइनलमा पराजित गरिन् ।
यस्तै विश्वविद्यालयतर्फ छात्र सिंगल्समा पृथ्वीनारायण क्याम्पसका सुमित सुनारले फाइनलमा पोखरा लिंकनका हेप्पी गुरूङलाई २१–१३, २१–१६ ले पराजित गरी पहिलो स्थान हात पारे ।
कक्षा ११–१२ छात्र डबल्समा प्रतिभाका विज्ञान भण्डारी र पवन गुरूङको जोडी विजेता बनेको छ । उनीहरुले मदरल्याण्डका दिप राना र आशिष बहादुर कार्कीको जोडीलाई १७–२१, २१–९, २१–१० ले पराजित गरेको संघका सचिब फणिन्द्र तिमिल्सिनाले जानकारी दिए ।
विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सभाका सदस्य एवं पूर्व मन्त्री पञ्चराम गुरूङ, स्व.इन्द्र बहादुर गुरूङकी धर्मपत्नी जगदेश्वरी गुरूङ, स्वार्गिय गुरूङका भाई दुतमान गुरूङ, हिसान गण्डकीका उपाध्यक्ष पुरन कुंवर लगायतले मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै सांसद गुरूङले यूवा खेलाडी उत्पादनमा यो कार्यक्रम महत्वपूर्ण रहेको जनाउँदै राज्यले खेलकुदमा रहेका समस्याहरु समाधान गर्न ध्यान दिनु पर्ने जनाए ।
समापन कार्यक्रम कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष शुसिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
सोही अवसरमा हालै भुटानमा सम्पन्न क्षेत्रिय व्याडमिन्टन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पदक विजेता खेलाडी दिलासा राना, निभा राई र आयुष्मा नेपाललाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा ४४ विभिन्न विद्यालयका १४४ खेलाडीहरुको सहभागिता रहेको थियो ।


