
पोखरा स्पोर्ट्स । नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष २०८१ को पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को खेलाडी छनोट समितिले शनिबार २२औं संस्करण स्पोर्टस अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएका वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ ।
को–को परे मनोनयनमा
वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिन्जाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा परेका छन् ।महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा रहेको ५ सदस्यीय छनोट समितिले खेलाडी र प्रशिक्षक छनोट गरेको हो । उक्त समितिमा निरञ्जन राजवंशी, प्रजित शाक्य, हिमेशरत्न वज्राचार्य र विराट रायमाझी छन् । वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको हो ।
वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ परेका छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।
अवार्ड पोखरामा भदौ २९ गते आयोजना हुनेछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डको दिन सबै विधाको विजेता घोषणा गरिनेछ ।
पत्रकार सम्मेलनमा छनोट समितिका संयोजक ठकुरीले वर्ष २०८१ मा नेपाली खेलाडीले ऐतिहासिक सफलतासँगै धेरै राम्रो नतिजा पाएकाले मनोनयनमा गर्न कठिन भएको बताए । साथै उनले एक वर्षभर नेपाली खेलकुदले पाएका सफलतालाई दस्तावेजका रूपमा राखिएको र त्यसले छनोट गर्न सहज भएको बताए । मनोनयन सार्वजनिक कार्यक्रममा छनोट समितिका सदस्य प्रजित शाक्यले नेपाली खेलकुदले लामो समयदेखि प्रतीक्षा गर्ने कार्यक्रमका रूपमा अवार्ड रहेको बताए ।
मञ्चका पूर्वअध्यक्ष एवं एआइपिएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले एआइपिएसका अध्यक्ष जियानी मेर्लो अवार्ड कार्यक्रममा सहभागी हुने जानकारी गराए । अवार्डकै पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।
यस विधामा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । उनीहरूको भोटिङका लागि प्रचारप्रसार तीव्र भइरहेको छ । डिजिटल वालेट खल्ती वाई आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी छ ।
नेपाल ओलम्पिक कमिटीमा आबद्ध खेल संघका प्रमुख प्रशिक्षक र मञ्चका सदस्यहरूले दिएको मत पनि यस विधाको विजेता छनोटको आधार हुनेछ । स्पोटर््स अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर््स जर्नालिस्ट अवार्डको घोषणा कार्यक्रमकै दिनमा नै घोषणा गरिनेछ । वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ र गिफ्ट ह्याम्पर पाउने मञ्चले जनाएको छ ।
यस वर्ष पनि एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा गु्रपको बजाज पल्सर मोटरसाइकल रहेको छ । अवार्डको प्रवर्द्धकमा पोखरा महानगरपालिका छ ।
अन्य सहयोगीमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एन्ड स्पा, म्याजेस्टिक होटल, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल प्रालि, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) छन् ।
