
केशव पाठक/पोखरा,
तासी घले खेलकुदमा उत्साहका साथ लिइने नाम हो । उनी नेपाल ओलम्पिक कमिटीको सदस्य हुन भने नेपाल गल्फ संघका अध्यक्ष । गल्फको जिम्मेवारी काँधमा बोकेका उनको ध्याउन्न भनेको यति बेला गल्फ कोर्ष (मैदान)को खोजी हो ।

चाहे हवाई यात्रामा हुँदा होस वा गाडीको यात्रामा काठमाण्डौको भिडभाडलाई छिचोलेर निस्कने वित्तिकै तासीको ध्याउन्न भनेको गल्फ कोर्षकै खोजीनै हो । कहिं कतै खाली ठाउँ देखी हाले भने कोट्याएर सोधीहाल्छन–“यो जग्गा कस्तो हो, आहा यहाँ गल्फ कोर्ष बनाउन पाएत ?” पोखरा आसपास वा शहर छेउछाउ जग्गा पाउनु भनेको आकाशको फल जस्तै हो यो समयमा । तर पनि उनी हरेश खाएका छैनन । गल्फ कोर्षको जग्गाको खोजी उनको निरन्तर छ ।

पोखरा आएका उनले पृथ्वी नारायण क्याम्पसको उत्तर पट्टी लमतन्न परेको खाली ठाउँ देखे पछि उनी दङ्ग थिए । क्याम्पसका खेलकुद प्रशिक्षक तथा कास्की जिल्ला बास्केटबल संघका उपाध्यक्ष जुम गुरुङले उनलाई क्याम्पसको उत्तर तर्फको ठाउँ देखाउँदै थिए । उनी भिरालो ठाउँ बाट जति तल झर्थे आफै अचम्भ मान्थे अनि भन्थे–“लु यहाँ त नौ होलको कायदाको कोर्ष पो हुन्छ त ।”

क्याम्पस प्रमुख प्रा.डा. चन्द्र बहादुर थापा भने उनको कुरामा हो मा हो भने मिलाउन सकेनन । जग्गा गल्फ कोर्षलाई दिए भने क्याम्पसले के गर्ने ? उनमा द्विविधा थियो । तर तासी भने उनलाई हौस्याउँदे थिए– “हेर्नुस जहाँ गोल्फ कोर्ष हुन्छ त्यहाँको फि समेत महङ्गो पो हुन्छ त” उनले अन्तर्राष्ट्रिय विश्वविद्यालयको उदाहरण पेश गरे । “फाइदा त कलेजलाई नै हुन्छ ।” उनले भने–“संघलाई यो जग्गा दिनु पर्दैन एउटा सम्झौता गरौं, आवश्यक परेको बेला क्याम्पसले लियोस ।” उनले जग्गा पाएमा गल्फ संघले सबै पुर्वाधार बनाइदिने समेत बताए ।

उत्तर तर्फको माछापुछ्रेलाई आँखामा ठोक्याउँदै, तल सेती नदी र काली नदीको सुस्केराहरुको आवाज कानमा गुञ्जने मिठो धुन संगै गल्फ खेल्न यहाँ कसलाई मन नहुँदो होला । तर क्याम्पसको जग्गा हुनाले यो ठाउँ यतिबेला बञ्जर छ । उपयोग विहिन भएको यो ठाउँ पोखराको खेलकुदमा नयाँ गन्तव्य बन्न सक्छ । यसमा चासो कसैको छैन । टाशीले गल्फ कोर्ष हुन्छ भनेर ठोकेको ढयाङ्ग्रो राज्यका निकायको कानमा पुग्न कति बेला पुग्ने हो त्यो भने समयले बताउनेछ ।

कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी प्रसाद गुरुङ समेत आफ्ना केन्द्रिय अध्यक्ष तासीलाई देखाउँदै यसका लागि पहल गर्न आग्रह गरिरहेका थिए । क्याम्पसमा भयो भने विद्यार्थीहरुलाई गल्फमा आर्कषित गर्न सकिने र भावी खेलाडी उत्पादन गर्न सहज हुने उनको ठम्याई छ । त्यसो त पोखरामा विश्वकै उत्कृष्ट हिमालयन गल्फ कोर्ष नभएको पनि होइन । तर व्यक्ति सम्पतीे भएको हुनाले भने जस्तै गरि खेलाडी उत्पादन गर्न सकिन्न न त संघको यसमा पहुँचनै पुग्छ ।
गल्फ कोर्षका लागि तनहुँको चिन्तुटार
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिब रमेश कुमार सिलवालले अध्यक्ष तासीलाई तनहुँको चिन्तुटार खेल मैदान पुर्याए । मादी नदीको किनारमा लमतन्न् ४ सय रोपनी भन्दा वढी जग्गा देखेर टाशी तिन छक परे । सोधी हाले–“काठमाडौ बाट कति किलोमिटर पर्छ हँ ?” नजिकै रहेका राखेपका सदस्य राजेश गुरुङले भने–“काठमाडौ बाट १५० पोखरा बाट ५० मात्रै ।”

उनी दङ्ग परेर सदस्य सचिब संग मनको बह पोखिरहेका थिए । “एउटा रिर्सोट सहित यहाँ गल्फकोर्ष अति राम्रो हुन्छ सदस्य सचिवज्यु ।” लामो समय भयो दमौली स्थित चिन्तुटारको खेलमैदान बनाउने योजना अझै सम्म अलपत्र भएको । जिल्ला खेलकुद तनहुँको नाममा यो जग्गा छ । स्थानियले भन्दै थिए–“यसको योजना रातो कितावमा पनि पर्यो तर काम अघि बढ्न सकेन ।”

चिन्तुटारमा आँखाले ठम्याउन नसकिने लमतन्न परेको ठाउँलाई गोल्फ कोर्षमा परिणत गर्न सके स्थानियले देखेको सपनाको एक छेउ पुरा पक्कै हुने थियो । खेलकुदमा अभिरुची संगै मनका धनी तासीले यो ठाउँको विकासका लागि आँखा खोलिदिए भने तनहुँको चिन्तुटारको भविष्य उज्जवल हुनेमा कुनै शंकानै छैन ।
