
पोखरा स्पोर्ट्स । नेपाली अनुभवी मोटरसाइकल राइडर बिक्रम थापाले जापानको चिवा प्रान्तस्थित सोडेगौरा फरेस्ट रेसवे सर्किटमा सम्पन्न मोटरसाइकल रेसिङ्ग क्लव सिरिजको चौथो चरणमा पहिलो स्थान हासिल गरेका छन् ।
२४०० मिटर लामो ट्रयाकमा ८ ल्याप पुरा गर्दै २२ जनालाई पछि पारेर उनले उपाधि हासिल गरे । ३७३ सिसि सम्मको सिङ्गल सिलिण्डर अथवा २५० सिसिको टुइन सिलिण्डर मोटरसाइकलको सो क्लव सिरिजको चौथो राउण्डमा फस्ट पोजिसन निकाल्न बिक्रम सफल भएका हुन् ।
नेपाली मोटरसाइकल रेसिङ्गको शुरुवाती पुस्ताका एक अग्रणी नामको रुपमा थापा स्थापित छन् । उनले आफ्नो रेसिङ्ग यात्रा नेपालकै लोकप्रिय रेसट्रयाक रेसमाण्डु बाट सुरु गरेका थिए । पछिल्लो एक दशकदेखि जापानमा बसोबास गर्दै आएका उनले व्यवसायसँगै मोटरस्पोर्ट्समा पनि निरन्तर सक्रियता जनाउँदै आएका छन् ।
यसअघि जापानमा आयोजना गरिएको यस अघि २०१८ मा जापानमै भएको टिके रेन्टल बाइक सिरिजको एक्सपर्ट क्लासको उपाधि समेत बिक्रमले जितेका थिए । साथै, उनी एशिया कप अफ रोड रेसिङ्ग, सुजुकी एसियन च्यालेन्ज जस्ता अन्तर्राष्ट्रिय रेसमा समेत उल्लेखनीय प्रदर्शन गरिसकेका छन् ।
२०१४ मा चीनको बेइजिङमा आयोजित एफआइए यङ्ग ड्राइभर्स एक्सिलेन्स एकेडेमी ट्रेनिङ्गमा फरमुला रेसिङ्गको ट्रेन्ड ड्राइभरको रुपमा बिक्रम, नेपालबाट छनोट हुने पहिलो खेलाडी थिए, जुन फर्मुला रेसिङ्गको तयारीका लागि आयोजित कार्यक्रम थियो।
उनको दीर्घ योगदान र सफलतालाई कदर गर्दै नेपाल अटोमोबाइल्स एसोसिएसनले उनलाई च्याम्पियन्स अवार्ड प्रदान गरेको थियो ।
हाल जापानमा रहँदै “मोटो–जाप नेपाल” नामक मोटरस्पोर्ट्स क्लवको स्थापनामा बिक्रम जुटिरहेका छन् । लाखौँ नेपाली बसोबास गर्ने जापानमा नेपाली मोटरस्पोर्ट्स पारखीहरूको संस्था निर्माण गर्ने लक्ष्यसहित उनले नेपाल र जापानमा संयुक्त रुपमा यो क्लव संचालन गर्ने योजना रहेको बताएका छन् ।
बिक्रमको यो सफलताले नेपाली मोटरसाइकल रेसिङ्गलाई अन्तर्राष्ट्रिय मञ्चमा थप स्थापित गर्ने विश्वास गरिएको छ ।

