
पोखरा स्पोर्ट्स । विश्वकै उच्च उचाइमा आयोजना हुने प्रतिष्ठित गल्फ प्रतियोगिता ‘टप अफ दी वर्ल्ड क्लासिक’को चौथो संस्करणको तयारी सुरू भएको छ ।
मुस्ताङ जिल्लाको लोमान्थाङमा अवस्थित ४७०० मिटर उचाइमा रहेको लोवाथाङ गल्फ कोर्समा सो प्रतियोगिता यहि भदौ २८ र २९ गते आयोजना हुने भएको हो ।
आयोजक संस्था मुस्ताङ गल्फ कोर्स प्रालिका प्रबन्ध निर्देशक तथा गण्डकीका पूर्व सांसद इन्द्रधारा विष्टका अनुसार, यो संस्करणमा स्वदेश तथा विदेशी गल्फरहरूको सहभागिता रहनेछ। नेपालका शीर्ष गल्फ खेलाडीहरू पनि यसमा प्रतिस्पर्धा गर्नेछन् ।
गत वर्षसम्म ९ होलमा सीमित प्रतियोगिता यस वर्ष १८ होलमा विस्तार गरिएको छ । प्रतियोगितामा नेपालसहित विभिन्न देशका ५५ देखि ६० जना गल्फरले सहभागिता जनाउनेछन् । नेपालका उत्कृष्ट ४ प्रोफेसनल गल्फरबीच छुट्टै प्रतिस्पर्धा हुनेछ, जसका विजेताले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । एम्योचर खेलाडीका विजेतालाई आकर्षक ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगितामा सर्वाधिक चासोको विषय ‘होल इन वान’ का लागि सजावटसहितको घोडा नै पुरस्कार राखिएको बिष्टले बताए । जुन विश्वकै अद्वितीय आकर्षणका रुपमा रहेको उनले उल्लेख गरेका छन् । साथै, विजेता, उपविजेता, बेस्ट ग्रस, लेडी विजेता, सिनियर विजेता, क्लोजेस्ट टु द पिन, मस्ट बर्डिज र लङ्गेस्ट ड्राइभतर्फ छुट्टाछुट्टै पुरस्कार वितरण गरिनेछ ।
‘टी फर क्लाइमेट’ : जलवायु चेतनाको सन्देश
यस वर्षको संस्करण ‘टी फर क्लाइमेट’ भन्ने नारासहित सञ्चालन गरिंदैछ । जलवायु परिवर्तनप्रति जनचेतना फैलाउने उद्देश्यसहित गल्फ प्रतियोगिता आयोजना गरिएको पूर्व साँसद विष्टले जनाएका छन् । “हामीलाई जलवायु परिवर्तनले नखाएको विष लागेको छ”, उनले भने, “जसका कारण हिमाली भेग समस्यामा छ । हामी खेलकुदमार्फत जलवायु परिवर्तनको विषयलाई गम्भिरतापूर्वक उठाउँछौं ।”
खेलसँगै स्थानीय कला, संस्कृति, र संगीतका विविध प्रस्तुतीहरू पनि प्रतियोगिता अवधिभर प्रस्तुत गरिनेछ।
गिनिज बुकमा नाम लेखाउने लक्ष्य
पूर्व सांसद विष्टका अनुसार, यो प्रतियोगितामार्फत लोमान्थाङ गल्फ कोर्सलाई अन्तर्राष्ट्रिय गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता गराउने प्रयास भइरहेको बताए । उनले भने–“हामी विगत तीन वर्ष देखि लगातार यो प्रयासमा छौं । तर अझै सफलता हात लागेको छैन । यसका लागि सरकारको पहल आवश्यक रहे पनि सरकारको त्यसतर्फ ध्यान पुग्न सकेन ।” प्रतियोगिताले मुस्ताङको मात्रै नभई नेपाली खेल पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
गण्डकी प्रदेश सरकार, लोमान्थाङ गाउँपालिका, तथा विभिन्न संघसंस्थाहरूको सहकार्यमा यो प्रतियोगिता सम्पन्न हुनेछ । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ ।

